सामुदायिक पुँजीले समाजवादको आधार तयार गर्छ : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले समाजवादको आधार सामुदायिक पुँजी रहेको बताउनु भएको छ । शनिबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पाँचथर–काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्नु हुँदै उहाँले सामुदायिक पुँजीले समाजवादको आधार तयार गर्ने बताउनु भएको हो ।
समाजवादका लागि समुदायलाई बलियो बनाउनु पर्नेमा जोड दिनुहुँदै मन्त्री शर्माले अबको कार्यदिशा उत्पादनमा आधारित रहेर सामुदायिक पुँजी निर्माण रहेको बताउनु भयो । ‘गरिबी अन्त्य गर्ने, असमानताको अन्त्य गर्ने, सामाजिक न्याय स्थापित गर्ने कुरा आजको प्रमुख कुरा हो’, उहाँले भन्नु भयो, ‘सामाजिक न्याय स्थापित गर्दै त्यसमा आधारित भएर हामीले समुदायलाई बलियो बनाउनु पर्छ । सामुदायिक पुँजीलाई बलियो बनाउनु पर्छ । मूलतः सामुदायिक पुँजी निर्माणले नै समाजवादको आधार तयार गर्न सक्छौँ ।’
मन्त्री शर्माले उत्पादनका साधन र स्रोत माथि समुदायको स्वामित्व हुनुपर्नेमा जोड दिनु भयो । ‘उत्पादनका साधन र स्रोत माथि सामुदायिक स्वामित्व स्थापना गर्नु पर्छ । त्यसबाट मात्रै समाजवादको आधार तयार हुन सक्छ’, माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहनु भएका मन्त्री शर्माले भन्नु भयो, ‘यो हाम्रो भावी कार्यदिशा हो ।’
मन्त्री शर्माले सामुदायिक पुँजी निर्माणमा व्यक्तिगत प्रतिस्पर्धालाई समेत स्थान दिनु पर्ने धारणा राख्नुभयो । समूहमा काम गर्ने संस्कारको विकास गर्दै व्यक्तिगत प्रतिस्पर्धालाई समेत सँगै अगाडि बढाउनु पर्ने उहाँले बताउनु भएको हो ।
मन्त्री शर्माले समाजवादको प्रारम्भिक चरणमा पार्टी कमिटीहरूलाई उत्पादन र रोजगार सँग जोड्नुपर्ने बताउनु भयो । पार्टी कमिटीले उत्पादन र रोजगारीको क्षेत्रमा नेतृत्व गर्नुपर्ने तथा अर्कोतिर सामाजिक सांस्कृतिक रूपान्तरणको अभियान समेत सँगसँगै लानुपर्ने उहाँको भनाइ छ । त्यसबाट सामाजवादको प्रारम्भिक चरण अघि बढ्ने उहाँले बताउनु भयो ।
यस्तै समाजवाद नेपालको भूगोल तथा सामाजिक संरचनाका आधारमा निर्माण गरिनु पर्ने पनि मन्त्री शर्माले बताउनु भयो । उहाँले हिमाल, पहाड, तराई/मधेस, कर्णाली, दलित, जनजाति लगायतको आधारमा मौलिक समाजवादको आधार तयार पार्नुपर्ने बताउनु भएको हो ।
यसैगरी मन्त्री शर्माले प्रत्येक सदस्यको समान अधिकार भएको एक मात्र पार्टी माओवादी केन्द्र भएको दाबी गर्नुभयो । उहाँले पार्टी केन्द्र देखि इकाइ सम्मका सम्पूर्ण सदस्यको समान अधिकार भएको बताउनु भएको हो । सबैले समान रूपमा बोल्न पाउने अधिकार दिएको बताउनु भयो । ‘सबै सदस्यको समान अधिकार भएको हाम्रो पार्टी हो’, उहाँले भन्नुभयो, ‘चाहे केन्द्रीय अध्यक्ष होस् वा इकाइ कमिटी सदस्य होस् । सबैलाई अधिकार समान रूपमा दिइएको छ । हाम्रो पार्टीमा अभिव्यक्तिको स्वतन्त्रता छ ।’
पछिल्लो समय चुनाव प्रणाली खर्चिलो भएको बताउनु हुँदै मन्त्री शर्माले माओवादीले पुनः पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दालाई अघि सानु पर्ने धारणा समेत राख्नुभयो । गरिब, उत्पीडित, दलित, अल्पसंख्यक लगायतले चुनाव लड्न सक्ने प्रणाली नभएकाले अब सबैको समान प्रतिनिधित्व हुने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आवश्यकता उहाँले औँल्याउनु भयो । यो मुद्दा माओवादीले पहिले पनि उठाएको स्मरण गर्नु हुँदै मन्त्री शर्माले संविधान निर्माण गर्दा त्यसमा पार्टीको फरक मत रहेको बताउनु भयो । त्यस्तै पार्टीले विगतदेखि प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा उठाएको भन्नु हुँदै उहाँले पुनः त्यसलाई पार्टीले मुद्दा अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।
‘यो देशलाई जनताद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारीको आवश्यक छ । त्यसले कम्तिमा पनि पाँच वर्ष आफ्नो भिजन कार्यान्वयन गर्न पाउनेछ’, उहाँले भन्नुभयो, ‘यो हाम्रो एजेन्डा बाँकी छ । यसलाई पुनः अगाडि लैजानुपर्छ ।’