एमाले सचिवमा टंक कार्कीले दिए उम्मेदवारी
चितवन । नेकपा एमालेको दसौं महाधिवेशनमा सचिव पदका लागी नेता टंक कार्कीले उम्मेदवारी दिएका छन् ।
सोमबार बिहान कार्कीले सचिवमा उम्मेदवारी दर्ता गरेका हुन्। कार्कीले यस अघि नै सचिवमा आफ्नो दाबेदारी पेस गरेका थिए।
अध्यक्ष केपी शर्मा ओलीले आइतबार साँझ सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा कार्कीको नाम केन्द्रीय सदस्यमा पनि समावेश छैन।
विद्यार्थी राजनीतिबाट एमालेमा आएका कार्की चीनका लागि पूर्वराजदूत समेत हुन्। एमालेभित्र उनलाई बौद्धिक नेताका रूपमा चिनिन्छ।
यसअघि ओलीले तयार पारेको सूचीमा सचिवका लागि टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम छ।
उक्त नाममा असन्तुष्टि जनाउँदै नवौं महाधिवेशनबाट सचिव बनेका भीम आचार्यले पनि फेरि सचिवमै उम्मेदवारी दिएका छन्।
आचार्य र कार्कीको उम्मेदवारीसँगै एमाले सचिवका लागि पनि चुनाव हुने भएको छ।