काँग्रेसको महाधिवेशन : आजदेखि सातवटै प्रदेशमा अधिवेशन हुँदै
बुटवल । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत आज ७ वटै प्रदेशमा प्रदेश अधिवेशन हुँदैछ । प्रदेश संरचना अनुसार पहिलो पटक हुन लागेको प्रदेश अधिवेशन प्रदेश एक को विराटनगर, प्रदेश २ को जनकपुर, बागमतीको हेटौंडा, गण्डकीको कर्णाली, लुम्बिनी भैरहवा, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा हुने नेपाली काँग्रेसले जनाएको छ ।
नेपाली काँग्रेसको महाधिवेशन निर्वाचन तालिका अनुसार आज (बिहिबार) प्रदेश अधिवेशनको उद्घाटन र भोली (शुक्रबार) मनोनयन दर्ता र १८ गते शनिबार निर्वाचनको कार्यक्रम तय गरिएको छ ।
लुम्बिनी प्रदेशको भैरहवा स्थित महेन्द्र सभागृहमा हुने अधिवेशनको दिउँसो १२ः३० बजे उद्घाटनको कार्यक्रम तय गरिएको छ ।
सात वटै प्रदेश अधिवेशनको प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्नु हुनेछ ।
गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण लुम्बिनी प्रदेश अधिवेशनको संयोजक तोकिनु भएको छ । लुम्बिनी प्रदेशमा लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनीधि र प्रदेश प्रतिनीधि गरी १ हजार ५८५ जना प्रदेश अधिवेशनका मतदाता रहेका छन् ।
प्रदेश अधिवेशनमा त्योसंगै ३ हजार बढीको सहभागिता रहने अनुमान गरिएको छ । प्रदेश अधिवेशनमा बाहिर जिल्लाबाट आउनेहरुलाई खाने बस्ने व्यबस्था मिलाईएको छ ।