ओलीले क्रान्तिकारी धार छाडेर राजाबादीसँग साँठगाँठ बढाए : माधव नेपाल

खबरपथ संवाददाता
२५ मंसिर २०७८, शनिबार १९:५३

बुटवल । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले केपि ओलीले क्रान्तिकारी धार छाडेर राजाबादीसँगको साँठगाठ गर्न पुगेको आरोप लगाएका छन । उनले ओलीले कम्यूनिष्ट धारबाट स्खलित भएको बताए । नेकपा एकिकृत समाजवादी रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीलाई सुधार गर्न नसकेकै कारण विद्रोह गर्न बाध्य भएको बताए । उनले नेकपा एमालेलाई ओलीले दक्षिणपन्थी बाटोमा लगेको आरोप लगाए ।

उनले एमालेले आफ्नो क्रान्तिकारी धार त्यागेकै कारण आफूहरुले अलग बाटो रोज्नुपरेको बताए ।‘चिवनमा भएको कुभ्भ मेलामा देख्नु भएन, आफैले आफैलाई अध्यक्ष बनाएको’ नेपालले ब्यङग्य गर्दै भने –‘ओलीमा भएको म नै सर्वेसर्वा, म नै राज्य भन्ने प्रवृत्तिले यो अवस्था आएको हो ।’

अध्यक्ष नेपालले ओलीले माक्र्सबादी विचारधाराको पार्टीलाई भुत्ते बनाएर राजाबादीसँग साठगाठ र विदेशी शक्तिसँग लम्पसार परेको बताए । ‘कमल थापासँग ओली जीको साँठगाठ बढेको छ, मध्यरातमा खुवियाहरुसँग भेटघाट गरेको थाहै छ’ नेपालले भने –‘केपि ओलीमा स्खलन भयो, एमाले कम्यूनिष्ट धारमा छैन ।’ उनले पानी जहाजको गफ हाँकेर टावरमा अर्बो रकम हालेर समाजवाद नआउने भन्दै आलीलाई कटाक्ष गरे ।

उनले अहिलेको मुख्य प्रधान विरोध दलाल नोकरशाही पूँजीवाद नै भएको बताए । उनले नोकरशाही दलाल पूँजीवादलाई राजनीतिक संरक्षण भएकाले त्यस्तो प्रवृत्तिको विरोधमा आफ्नो पार्टी रहेको बताए । उनले आफूहरु कार्यकर्तामाझ भिजेको पार्टी बनाउने अभियानमा सामेल भएको बताए । उनले समाजवादी पार्टी चुनावदेखि चुनावसम्मको पार्टी नभएको बताए ।
‘चुनावदेखि चुनावसम्म होईन, हामीले जनतादेखि जनतासम्म भनेका छौं’ अध्यक्ष नेपालले भने –‘त्यसैले हामीले जनताको मूल्यांक, निगरानीमा बस्ने पार्टी बनाउँदैछौं’ उनले भने । उनले समाजवादी पार्टीलाई असल कार्यकर्ताहरुको पार्टी बनाउने बताए । उनले त्यसका लागि कार्यकर्ताहरुले माक्सवाद, प्रगतीशिल साहित्यहरु अध्ययन गर्नुपर्ने बताए ।

त्यत्रो खर्च गरेर, पार्टी कार्यालय बनायौं भनेर कतिपय साथीहरु भन्नुहुन्छ, साँच्चि भन्ने हो भने केपि ओलीले बनाएका होईनन्’ नेपालले भने –‘घर हेर्दै रुदै बस्नुभन्दा त्यहाँबाट बाहिरिएका छौं, अब फेरी घर बनाउनेछौं, कार्यालय बनाउनेछौं ।’
उनले कार्यकर्तालाई मिठो बोलेर पार्टी संगठन निर्माणमा जुट्न समेत अपिल गरे । नेता नेपालले अब निर्वाचन प्रणालीमा परिवर्तन गुर्नपर्ने बताए । खर्चिलो र महगो बनेको निर्वाचन प्रणालीमा भोज र पैसामा भोट बेच्ने प्रवृत्तिलाई रोक्नुपर्ने बताए । ‘धनीले मात्रै चुनाव लड्ने स्थिती आएको छ, अब यसमा सुधार गर्नुपर्छ’ नेपालले भने ।

एमाले विभाजन पछि पहिलो पटक शक्ति प्रदर्शन सहित नेकपा एकीकृत समाजवादी रुपन्देहीले जिल्ला स्तरीय कार्यकर्ता भेला एंव प्रशिक्षण गरेको छ । प्रशिक्षण कार्यक्रममा समाजवादीका केन्द्रीय उपमहासचिव डा. विजय पौडेलले आफूहरुले विचारको पार्टी निर्माण गर्ने बताए । उनले ओलीले कम्यूनिष्ट विचारबाट च्यूत गरेका कार्यकर्तामा नयाँ उर्जा थप्ने बताए । उनले सामाजिक कुरिती विसंगती विरुद्ध पार्टीलाई उभ्याउने बताए । उनले कार्यकर्ताहरुलाई किताब अध्ययन गर्न आग्रह गरे । कार्यक्रममा समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी, केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, अर्का केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, जिल्ला अध्यक्ष राजु गुरुङ, सचिव अविराम विश्वकर्मा लगायतले बोल्दै रुपन्देहीको भेलाले उत्साह थपेको बताउँदै ठूलो पार्टी बनाउने बताए । उक्त विभिन्न पार्टी परित्याग गरि २ सय बढि समाजवादीमा प्रवेश गरेका छन ।


पार्टी कार्यालय उद्घाटन
नेकपा एकिकृत समाजवादी लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कमिटिको पार्टी कार्यालय उद्घाटन भएको छ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री नेपाललले एक समारोहका विच पार्टी कार्यालय उद्घाटन गरेका हुन ।
बुटवल ८ सुख्खानगरमा प्रदेश र जिल्ला कमिटिको संयुक्त कार्यालय स्थापना भएको हो । कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले कार्यालयलाई स्मार्ट रुपमा अघि बढाउन आग्रह गरे । उनले निर्वाचनहरु नजिक आइरहेकाले तथ्यांकहरु, पार्टीका कागजपत्र चुस्त दुरुस्त रुपमा राख्न समेत आग्रह गरे । उनले प्रविधिको उच्चतम प्रयोग गर्न सुझाव दिए । उद्घाटन समारोहमा पार्टीका उपमहासचिव डा. विजय पौडेल, सचिव भागवत विश्वसी, केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, सिद्धिचरण भट्टराई लगायतका नेताहरुको उपस्थिती थियो ।

कार्यालय स्थापनासँगै पार्टीका नियमित कामलाई व्यवस्थित रुपमा अघि बढाउने जिल्ला अध्यक्ष राजु गुरुङले बताए ।कार्यक्रमको सञ्चालन उपसचिव सरिता श्रीसले सञ्चालन गरेकी थिईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*