रक्षा मन्त्री रिजालले राजीनामा दिँदै
काठमाण्डौं । नेपाल सरकारका रक्षा मन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने भएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री उम्मेदवार बनेका रिजालले प्रारम्भिक मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु । अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु ।
महामन्त्रीका लागि जारी मतगणनामा रिजाल पाँचौं नम्बरमा छन् । रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।