माओवादी केन्द्रको बन्दसत्र आजबाट सुरु हुँदै

खबरपथ संवाददाता
१२ पुष २०७८, सोमबार ०८:३२

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र आजबाट सुरु हुँदै छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुने माओवादी नेता जनार्दन शर्मा (प्रभाकर) ले जानकारी दिए ।

आइतबार प्रज्ञा भवनमै माओवादीको महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएको थियो ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधान लगायतका प्रतिवेदनहरु पेस हुने र ती प्रतिवेदनहरुमा समूहगत छलफल हुनेछ । समूहगत छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २० भन्दा बढी समूहमा बिभाजन गर्ने तयारी छ ।

माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको विधानमा १५ पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव छ । एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने प्रस्तावलाई महाधिवेशनले अनुमोदन गर्नेछ ।

राजनीतिक र विधान पारित भए पछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रको अध्यक्षमा निर्विकल्प प्रचण्ड नै दोहोरिने निश्चित छ । अन्य पदहरुमा भने आकांक्षी धेरै छन् । सकेसम्म सहमतिमा नभए निर्वाचनबाट कार्यसमिति चयन गर्ने माओवादीको तयारी छ ।

सुरुमा पहिलो राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेर प्रचार प्रसार गरेको माओवादी केन्द्रले अन्तिम समयमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।@ onlinekhabar बाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*