प्रदेशको बिकासमा पर्यटनलाई जोड – काँग्रेस लुम्बिनी प्रदेश

खबरपथ संवाददाता
१६ पुष २०७८, शुक्रबार २०:३८

बुटवल । नेपाली काँग्रेसले लुम्बिनी प्रदेशको बिकासको लागि पर्यटनलाई जोड दिएको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिको पहिलो बैठकले लुम्बिनी प्रदेशको बिकासको लागि पर्यटनलाई जोड दिँदै शान्तिभूमि लुम्बिनी र त्यससंग सम्बन्धित ऐतिहासिक, पूरातात्विक तथा धार्मिक पर्यटकीय क्षेत्रलाई जोडेर विकासको योजना बनाउने निर्णय गरेको हो ।
बिहिबार साँझ भएको बैठकको बारेमा जानकारी गराउन शुक्रबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिका सभापति अमर पुनले नेपालको धरोहरको रुपमा रहेको धार्मिक एवं पर्यटकीय स्थल लुम्बिनीको विकासका लागि सरकारले अगाडि बढाएका रणनीति, कामकारबाही र प्रगतिको अनुगमन गरी थप विकासका लागि आगामी योजना बनाएर पार्टीले मार्ग तय गर्ने बताउनु भयो ।
नेपाली काँग्रेस लुम्बिनीको ४ वर्षे अभियानमा स्पष्ट नीति, कार्यक्रम र योजना बनाएर संगठन निर्माण र जनहितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले समग्र लुम्बिनी प्रदेशको बिकासमा शान्तिभूमि लुम्बिनीलाई केन्द्रमा राखेर त्यसका माध्यमबाट पर्यटन प्रवद्र्धनका गतिबिधि गर्न सरकारलाई दिशा निर्देश गर्ने पनि बताउनु भयो ।
पत्रकार सम्मेलनमा पार्टीको पहिलो बैठकबाट गरिएका निर्णयहरुको बारेमा जानकारी गराउँदै सभापति पुनले सभापतिको प्रतिस्पर्धामा रहेका नेता भरतकुमार शाहलाई दोस्रो वरियतामा राख्ने निर्णय गरिएको जानकारी गराउनु भयो । त्यस्तै प्रदेशको प्रथम अधिवेशन सम्पन्न गर्ने सिलसिलामा भूमिका निर्वाह गर्ने निर्वाचन समिति, प्रतिनीधि, पार्टीका नेता, व्यबस्थापन समिति, रुपन्देही जिल्ला कार्यसमिति, सुरक्षा निकाय, पत्रकार, भातृ तथा सुभेच्छुक संघसंस्था सबैलाई धन्यवाद ज्ञपान गर्नुभयो ।
निर्वाचनको समयमा विचार समुहमा विभाजित भएर चुनाव लडेपनि निर्वाचिन पछि पार्टी एक भएको बताउँदै पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन सकिएसंगै अव मुलुक निर्वाचनको सम्मुखमा उभिएको छ । स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचिनमा वडादेखि केन्द्रसम्म पार्टीका उम्मेदवारलाई जिताउने तथा पार्टीलाई प्रविधिमैत्री बनाउने सभापति पुनले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*