लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु
दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागी मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।
लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले भोट हालेर मतदान सुरु गरिएको हो । पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेका महासचिव शंकर पोख्ररेलले पनि मतदान गरेका छन् ।
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको तीन सिटका लागि निर्वाचन हुँदैछ । सत्ता गठबन्धन र नेकपा एमालेका उमेदवारबीच प्रतिस्पर्धा छ ।
प्रदेशसभा सदस्य र प्रदेशभरका स्थानीय तहका प्रमुख/उपप्रमुख मतदान केन्द्रमा बिहानबाटै लाइन लागेका थिए ।
मतदानका स्थलमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखका लागि छुट्टाछुट्टै लाइनमा तोकिएको छ । त्यस्तै कोभिड संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएकालाई छुट्टै लाइनमा राखिएको छ । कोभिड संक्रमणको झोखिमलाई ध्यानमा राख्दै मतदान लाइनमा दुई–दुई मिटरको दुरी तय गरिएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।
मतदानको समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोकिएको छ ।