जेठ भित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनको सरकारलाई सुझाव
काठमाण्डौं । सत्तारुढ गठबन्धनले जेठभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ।
शनिबार दोस्रो पटक बसेको सत्तारुढ गठबन्धनको उच्च स्तरीय संयन्त्र बैठकले जेठभित्र स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा मार्फत् सरकारलाई सुझाव दिएको बैठकपछि काँग्रेस नेता तथा सञ्चारतथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यस्तै संविधानसँग बाझिएका कानुनलाई संशोधन गर्नुपर्ने भए त्यो तयारी गर्नको निम्ति पनि सरकारलाई आज बसेको उच्च स्तरीय संयन्त्र बैठकले सुझाव दिएको उनले बताए।
पाँच दलीय सत्ता गठबन्धन जेठ महिनाभित्र चुनाव गराउन तयार भएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर मिति तोक्नेछ।’
निर्वाचन आयोगसँग छलफल गरेपछि एकै चरणमा निर्वाचन गर्ने वा फरक फरक मितिमा गर्ने कुराको टुंगो लाग्ने उनले बताए।