आज प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईदै
काठमाडौं । आज ७२ औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । प्रजातन्त्र दिवसका अवसरमा सरकारी र विभिन्न संघसस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।
मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले सबै नेपालीहरुमा शुभकामना दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ५०१ जना कैदीहरूको बाँकी सजाय मिनाहा गरेकी छन्।