पत्रकार भुसाल ‘शाईन आर्थिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित
बुटवल । शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकले स्थापना गरेको ‘शाईन आर्थिक पत्रकारिता पुरस्कार’बाट बुटवलका पत्रकार यमलाल भुसाल सम्मानित हुनुभएको छ । २८ वर्षदेखि निरन्तर पत्रकारिता गर्दै आएका भुसाललाई बैंकको १४ औं स्थापना दिवसको अवसरमा बुधबार बैंकको केन्द्रीय कार्यालय बुटवलमा आयोजित कार्यक्रममा ५१ हजार रुपैंया नगद पुरस्कार सहित सम्मान गरिएको हो ।
उहाँलाई बैंक सञ्चालक समितिका अध्यक्ष थानेश्वर पौडेल, प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले संयुक्त रुपमा सम्मान गर्दै पुरस्कार प्रदान गर्नु भएको थियो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्नेगरी बैंकले ५ लाख रुपैंयाको ‘शाईन आर्थिक पत्रकारिता पुरस्कार’ अक्षयकोष स्थापना गरिएको बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले बताउनु भयो । पुरस्कार स्थापनाको पहिलो वर्ष आन्तरिक कोषबाट पुरस्कार प्रदान गरिएको र आगामी वर्षदेखि अक्षयकोषबाट पुरस्कार प्रदान गरिने अध्यक्ष पौडेलले जानकारी गराउनुभयो ।
पत्रकार महासंघको समन्वयमा पत्रकारिता पुरस्कार स्थापना भएको र ३ महिना भित्र पुरस्कार वितरण मापदण्ड तयार गरि अर्को वर्षदेखि सोही मापदण्ड अनुसार वितरण गरिने पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष पोख्रेलले बताउनु भयो ।
सोही अवसरमा बैंकले राम्रो काम गर्ने दुई शाखालाई पनि सम्मान गरेको छ । ग्रामिण क्षेत्रमा राम्रो काम गर्ने प्युठानको भृङ्ग्रि शाखा र शहरी क्षेत्रमा राम्रो काम गर्ने रुपन्देहीको शंकरनगर शाखालाई सम्मान गरिएको हो । त्यस्तै आईटी विभागका प्रितेश सिंहलाई शाइन इन्नोभेसन अवार्ड प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य पन्थीले कतिपय बैंकहरुमा आर्थिक अपचलनका समस्याहरु आएपनि शाईनमा त्यस्तो सुन्न नपरेको र आगामी दिनमा पनि ईथिकल कारोवारमा जोड दिनुभयो । कार्यक्रममा बैंकका अध्यक्ष थानेश्वर पौडेलले २०६५ साल फागुन ११ गते तीन जिल्ला कार्यक्षेत्रसहित शुरु भएको बैंकको हाल जारी पँुजी ५ अर्ब, चुक्ता पूँजी ३ अर्व ७८ करोड, लुम्बिनी प्रदेशका रोल्पा र रुकुम बाहेक १० जिल्लामा ७१ वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन कार्यालयसहित कूल ८३ वटा शाखा कार्यालय र ७ वटा एटिएम सञ्चालनमा रहेका जानकारी गराउनु भयो ।
बैंकले पुस मसान्तसम्म ४१ अर्ब १६ करोड निक्षेप संकलन गरी ३७ अर्ब ३२ करोड कर्जा प्रवाह गरेको र ५ लाख भन्दा बढी ग्राहकहरु रहेका अध्यक्ष पौडेलले जानकारी गराउनु भयो । बैंकले २०७८ पौष मसान्त सम्ममा कृषि क्षेत्रमा ७.८५ प्रतिशत, पयर्टन क्षेत्रमा १४.०६ प्रतिशत र लघु, घरेलु तथा साना उद्यमरब्यवसाय क्षेत्रमा ९.८४ प्रतिशत गरी प्राथमिकताप्राप्त क्षेत्रमा कूल कर्जाको ३१.७५ प्रतिशत लगानी गरेको पौडेलले जानकारी गराउनु भयो । समाजसंगै बैंक भन्ने अभियान अन्तर्गत बैंकले संस्थागत सामाजिक क्षेत्र अन्तर्गत दुर्घटना न्यूनीकरण, सरसफाई तथा वातावरणको संरक्षण, शैक्षिक क्षेत्र, वित्तीय जागरण, दन्त स्वास्थ्य उपचार शिविर लगायतका क्षेत्रहरुमा काम गरेको अध्यक्ष पौडेलले बताउनु भयो ।
बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न चालु आ.व. मा बैंकको शाखा कार्यालयहरु सञ्चालनमा रहेका बिभिन्न जिल्लामा सञ्चालित २६ वटा शैक्षिक संस्थामा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सञ्चालन गरेको र आगामी आर्थिक बर्षमा १४ वटा सरकारी बिद्यालयहरुलाई डिजिटलमैत्री बनाउन डिजिटल बैंकिङ्ग सम्बन्धी साक्षरता अभियान सञ्चालन गर्ने अध्यक्ष पौडेलले बताउनु भयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले इथिकल बैंकिङलाई केन्द्रमा राखेर लुम्बिनी प्रदेशको आर्थिक विकास र समृद्धिका लागि दरिलो खम्बाको रुपमा प्रदेशको पहिलो रोजाईको बैंक बनाउन अग्रसर रहेको बताउनु भयो ।
गत वर्षदेखि राष्ट्रियस्तरमा स्तरोन्नति भएको बैंकले आगामी दिनमा नेपाल धितोपत्र बोर्डवाट अनुमति लिई मर्चेन्ट बैकिङ्ग सम्बन्धी काम गर्ने सहायक कम्पनी स्थापना गर्ने लक्ष्य लिएको सीईओ पौडेलले बताउनु भयो ।