लुम्बिनी प्रदेशमा काँग्रेसले बनायो उम्मेद्धवार छनौटको मापदण्ड

खबरपथ संवाददाता
२६ फाल्गुन २०७८, बिहीबार १९:३८

बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले उम्मेदवार छनौटको लागि मापदण्ड बनाएको छ ।
बुधबार नेपाली काँग्रेस प्रदेश समितिको बसेको कार्यसमिति बैठकले स्थानीय आवश्यकताको आधारमा एकल वा अन्य राजनीतिक दलसंग सहकार्य गर्नेगरी उम्मेद्वार छनौटको लागि मापदण्ड बनाएको हो । प्रदेश समितिले बिहिबार बिहान प्रदेशपार्टी कार्यालय बुटवल तामनगरमा पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सभापति अमरसिंह पुनले सिंगलसिंगल भए प्रदेशमा काँग्रेसले बहुमत ल्याउने र अधिकतम धेरै उम्मेदवारलाई जिताउनको लागि स्थानीय आवश्यकता अनुसार अन्य दलसंग तालमेल गर्नेगरी प्रदेश समितिले रणनीति अख्तियार गरेको बताउनु भएको हो । अन्यदलसंग गठबन्धन गर्ने÷नगर्ने अधिकार स्थानीय समितिलाई रहने र स्थानीय समितिले सत्ता गठबन्धन बाहिरका अन्य दलसंग पनि सहकार्य गर्न सक्ने उहाँले जानकारी गराउनु भयो ।

त्यस्तैगरी स्थानीय तहको निर्वाचनमा निश्चित बिधि र मापदण्डका आधारमा टिकट वितरण गर्ने पनि बैठकले निर्णय गरेको छ । पार्टीमा गरेको योगदान, जनाधारको मुल्यांकन, कार्यक्षमता तथा कार्यकुशलता, दक्षता सहितको समावेशीतालाई प्राथमिकता, क्रियाशिलता, निरन्तरता, निष्ठा र त्याग, प्रतिस्पर्धाको समेत मुल्यांकन गरिने सभापति पुनले बताउनुभयो ।

सभापति पुनले पार्टीका नेता कार्यकर्तालाई टिकट खोज्दै नेताको पछि लाग्न भन्दा मतदातासंग जान आग्रह गर्नुभयो । पत्रकारहरुको जिज्ञाशामा उहाँले केन्द्रले गर्ने निर्णय प्रदेशलाई बाध्यकारी नभएको र केन्द्रलाई समेत चित्त बुझाएर स्थानीय परिवेशलाई हेरेर फरक फरक दलसंग चुनावी गठबन्धन गरिने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*