अर्घाखाँचीमा गठबन्धन दलबिच चुनावी तालमेल
बुटवल । लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लामा सत्ता गठबन्धनमा रहेका दलहरुले चुनावी तालमेल गरेका छन् । आगामी बैशाख ३० मा घोषणा भएको स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका नेपाली काँग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका हुन् ।
सोमबार अर्घाखाँचीको सन्दिखर्कमा पत्रकार सम्मेलन गरी घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाको लागि स्थानीय तहको निर्वाचित, प्रदेश सभा र प्रतिनीधि सभाको निर्वाचनसम्म सत्तागठबन्धनमा आवद्ध दलहरुको चुनावी तालमेल गरिएको बताउनु भयो ।
त्यस्तै माओवादी केन्द्रकी छमकुमारी खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरंकुशता र तानशाहीको बिरुद्धमा चुनावी तालमेल गर्ने सहमति भएको बताउनु भयो । पत्रकार सम्मेलनमा एकिकृत समाजवादीका अध्यक्ष रामबहादुर चौहान, जसपाका जिन्दक खड्का र राष्ट्रिय जनमोर्चाका शेरबहादुर बिसीले चुनावमा जाँदा सबै दलको समानुपातिक प्रतिनीधित्व हुनेगरी चुनावी तालमेल गर्ने निर्णय गरिएको बताउनु भएको थियो ।