लुम्बिनी प्रदेशमा काँग्रेसको वार्ता समिति गठन
बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेशले वार्ता समिति गठन गरेको छ । लुम्बिनी प्रदेशमा गठबन्धनका दलहरुसंग वार्ता र संवादको लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेको हो ।
वार्ता समितिको सदस्यमा भरत शाह, भुवन प्रसाद श्रेष्ठ, राजु खनाल र प्रकाश राना रहेका छन् । मंगलबार निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सभापति अमरसिंह पुनले सबैलाई न्यायोचित हुने गरी गठबन्धन दलसँग तालमेल गर्न वार्ता समिति गठन गरेको बताए । त्यस्तै बैठकले प्रदेश कार्य समितिका प्रवक्ता प्रचण्ड विक्रम न्यौपानेको संयोजकत्वमा ११ सय १ जनाको प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको छ।
साथै बैठकले सभापति पुनको संयोजकत्व रहने र त्यसमा नेता भरत कुमार शाह तथा सम्पूर्ण पदाधिकारी, प्रदेश अन्तर्गत जिल्ला सभापतिहरु लगायत सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय भएको समेत उनले बताए ।
त्यस्तै बैठकले माधव खरेलको संयोजकत्वमा अनुशासन समिति गठन गरेको छ। जसको सदस्यमा महेन्द्र पाण्डे, प्रेमलता भटट् र कृष्ण प्रसाद अधिकारी रहेका छन् । सभापति पुनले स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र लेख्न विक्रम खनालको संयोजकत्वमा ५ सदस्यीय समितिको गठन गरिएको बताए ।