काठमाडौंमा विवेकशील साझाबाट मेयरमा बास्कोटा र उपमेयरमा तुलाधर उम्मेदवार
काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौंको मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बागमती प्रदेशकी पूर्वसंयोजक एवम् केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य बाँस्कोटालाई मेयरको उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
३८ वर्षीया बाँस्कोटा २०७४ को प्रदेश सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ ‘क’ बाट उम्मेद्वार बनेकी थिइन् । त्यतिबेला तेश्रो भएकी उनले ४ हजार ३४३ मत पाएकी थिइन् ।
काठमाडौं स्कुल अफ लबाट कानून विषयमा स्नातक गरेकी उनले अमेरिका गएर कानूनमा नै मास्टर्स गरेकी थिइन् । पढाई सकाएर स्वदेश फर्केकी बाँस्कोटा राजनीतिसँग सँगै चियाको बजारीकरणको काम पनि गर्छिन ।
बाँस्कोटा र ६२ वर्षीया तुलाधरले संयुक्त घोषणापत्र छिट्टै सार्वजनिक गर्ने विवेकशील साझा पार्टीले जनाएको छ ।