तिलोत्तमामा गठबन्धनद्धारा प्रतिबद्धतापत्र सार्बजनिक
बुटवल । भ्रष्टचारमुक्त तिलोत्तमा नगर भन्ने मुल मन्त्रसहित रुपन्देहीको तिलोत्तमामा गठबन्धनले प्रतिबद्धतापत्र सार्बजनिक गरेको छ । यहि बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रको गठबन्धनले संयुक्त घोषणापत्र सार्बजनिक गरेको हो ।
नगरमा प्रमुखका उम्मेदबार रामकृष्ण खांण र उपप्रमुखका उम्मेदवार हेमन्त पाण्डेले संयुक्त प्रतिबद्धता पत्र सार्बजनिक गर्दै गठबन्धनका उम्मेदवारलाइ मतदान गर्न आब्हान गर्नुभयो । प्रतिबद्धतापत्रमा आर्थिक सुशासन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा,सीप बिकास,सञ्चार प्रविधि,युवा खेलकुद ,कृषिक्षेत्र, भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग ब्यापार तथा पर्यटन, रोजगारी सिर्जनालाइ प्राथमिकतामा राखिएको छ ।
हालको करको दायरा फराकिलो बनाइ यो भन्दा अगाडिको तिलोतमा नगर सरकारले लगाएको एकीकृत सम्पती करमा ५० प्रतिशत घटाइने र जीर्ण तथा रुग्ण उद्योग व्यवसायले तिर्न बाँकी रहेको बक्यौता करमा ५० प्रतिशत छुट दिइने नगरप्रमुखका उम्मेदवार रामकृष्ण खांणले बताउनुभयो ।
त्यस्तैगरी अव्यवस्थित तथा सुकुम्बासी बस्तीलाइ व्यवस्थित बनाइ ५ वर्ष भित्र सबैलाई लालपुर्जा वितरण गरी तिलोतमा नगरको भूमीहिन समस्या पूर्णरुपमा निवारण गरिने उहाको भनाइ छ । त्यस्तै वैदेशिक रोजगारीमा रहनु हुने तिलोत्तमा नगर भित्रका नागरिकहरूले नगरभित्रका बैंकहरुमा डलर पठाएमा प्रति १ हजार डलरमा रु। १ हजार थप गरी भुक्तानी दिने व्यवस्था मिलाइने जनाइएको छ ।
उम्मेदवार खांणले जनताबाट उठाएको करले सालिक,गेट, स्तम्भ भ्यू टावर बनाउने र उपहार शुभकामना भोज भतेरमा खर्च गर्न पूर्ण बन्देज लगाइने बताउनुभयो । कार्यालयमा आफ्नो काम गराउन आउने नागरिकका लागि सहायता कक्ष र सेवाग्राही विश्राम स्थल बनाइने उहाको भनाइ छ । नगरमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरिने जनाइएको छ ।
नगरपालिकाको भवनलाई तिलोतमा नगर अस्पतालमा रूपान्तरण गरिने :
उम्मेदवार खांणको प्रतिबद्धतापत्रमा हालको तिलोत्तमा नगरपालिकाको भवनलाई तिलोतमा नगर अस्पतालमा रूपान्तरण गरिने उल्लेख छ । नगरका प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीको गुणस्तर वृद्धि गरिने र हरेक वडामा अपाङ्गता भएका तथा जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने जनाइएको छ ।
नागरिकहरुको आर्थिक स्तर अनुसारका न्यून मूल्यमा कार्यालयको नयां भवननिर्माण गर्ने र भवनको डिजाइन तयार गरिने जनाइएको छ ।
तिलोतमा बासीको नागरिकतालाई स्वास्थ्य सुरक्षा आधार पत्र मानी असहारा स्वास्थ्य सेवा उपलब्ध गराइने र गर्भवती महिला स्वाहार सम्भार र पोषण व्यवस्था गरी सुत्केरी भत्ता उपलब्ध गराउदै तिलोतमा नागरिक सस्तो औषधी पसल सञ्चालन गरिने सार्बजनिक गरिएको प्रतिबद्धतापत्रमा उल्लेख छ ।
अध्ययन संगसमे स्व आर्जन प्राविधिक क्याम्पस संचालन गरिने छ। सम्पूर्ण सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि गरिने योजना छ । नगरका सामुदायिक विद्यालयको विद्युत तथा खानेपानी महशुल नगरपालिकाले नै बुझाउने समेत प्रतिबद्धतामा समेटिएको छ ।