नेकपा एकीकृत समाजवादीले झुट्टा आश्वासन बाँड्दैन : कसौधन
भैरहवा । नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रिय अनुसाशन आयोगका सदस्य आदित्यनारायण कसौधनले स्थानीय तहको विकास र समृद्धिका लागि पार्टीका उम्मेदवारहरुलाई जिताउन अपिल गरेका छन् । उनले समाजवादीले सही एजेन्डा र स्पष्ट नीति लिएको बताउँदै स्थानीय तहलाई जनअपेक्षा अनुसार संचालन गर्न, समाजवादको लक्ष्यमा पुग्न र सुसाशन कायम गर्न सबै पालिकाहरुमा समाजवादीका उम्मेदवारहरुलाई मतदान गर्न आमनागरिक समक्ष उनले आग्रह गरेका हुन् ।
शुक्रबार पार्टीको सिद्धार्थनगर नगरपालिका स्तरीय निर्वाचन प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै कसौधनले भने, ‘समाजवादीले युवा र महिलालाई हरेक क्षेत्रमा अगाडि बढाउन चाहेको छ । हामीले उम्मेदवारहरु पनि त्यस्तै किसिमले बनाएका छौं । अब युवाले नै मुलुकको नेतृत्व गर्नुपर्छ । त्यसका लागि हाम्रो उम्मेदवारलाई मतदान गर्न म नगरबासीलाई आग्रह गर्छु ।’
कसौधनले युवाहरुको स्पष्ट नीति र योजनाले नगरलाई विकसित बनाउन सकिने जनाए । उनले कार्यकर्तालाई समाजवादीका एजेन्डा लिएर घरघरमा जान आग्रह गरे । मतदातालाई सही एजेन्डा छुट्याएर मात्रै मतदान गर्न अनुरोध गर्दै कसौधनले भने, ‘हाम्रा उम्मेदवार हेर्नुहोस्, हाम्रो एजेन्डा पढ्नुस र मतदान गर्नुस् ।’ उनले आफूहरुले गर्न सक्ने काममात्रै लिएर जनता समक्ष जाने बताउँदै झुट्टा आश्वासन कहिल्यै नबाँड्ने बताए ।
समाजवादी लुम्बिनी प्रदेश कमिटी सदस्य डा.ऋषिराम शर्माले नगरमा सबै क्षेत्र बुझेको, स्पष्ट नीति, योजना भएको र लामो समय राजनीतिमा क्रियाशील युवा कुलेन्द्र पुनलाई मेयरको उम्मेदवार बनाएको बताए । ‘यस्तो योग्य युवालाई हामीले नगरको मेयर उम्मेदवार बनाएका छौं, जसले यहाँका हरेक नागरिकको सुखदुःखमा हातेमालो गर्नसक्छ’, उनले भने, ‘नगरको चौतर्फी विकास गर्न अब समाजवादीले जित्नुपर्छ ।’ उनले सबै वडामा समाजवादीका उम्मेदवारहरुलाई जिताउन नगरबासीलाई अनुरोध समेत गरे ।
मेयरका उम्मेदवार कुलेन्द्र पुनले सक्षम नेतृत्व नहुँदा सिद्धार्थनगरले चाहेजति विकास गर्न नसकेको बताए । ‘यहाँ हरेक क्षेत्रमा समस्या छन्, चाहे त्यो, शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधार विकास होस्’, उनले भने, ‘यी क्षेत्रको राम्रो र एकीकृत विकास गर्न मसँग स्पष्ट योजना छ । त्यसैले मलाई नगरबासीले मतदान गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु ।’
उनले नगरमा पार्किङ, छाडा चौपाया र फोहोरमैला व्यवस्थापन मुख्य समस्याका रुपमा रहेको बताउँदै आफूले जिते पहिला यी समस्या समाधानमा लाग्ने जनाए । उनले आफू नगरका समग्र युवाहरुको प्रतिनिधित्व गरेर उम्मेदवार बनेको बताए । ‘युवाहरुका धेरै चाहना छन्, ती चाहना पूरा गर्न म समक्ष छु’, उनले भने । युवालाई सीप विकास, खेलकुद, रोजगारी प्रदानमा आफ्नो विशेष प्राथमिकता रहने उनले जनाए ।
धेरै उम्मेदवारहरुले मतदातालाई झुटा आश्वासन मात्रै बाँडेको बताउँदै पुनले आफूले गर्न सक्ने र नगरबासीको जनजीविकासँग सरोकार राख्ने योजना मात्रै अघि सारेको बताए । प्रचार कार्यालय उद्घाटन कार्यक्रममा पार्टी केन्द्रिय सदस्य उमा काफ्ले, पार्टी जिल्ला सचिवालय सदस्य तारापति भण्डारी, नगर कमिटी अध्यक्ष रामबहादुर बस्नेत लगायत विभिन्न वडाका वडाध्यक्ष तथा सदस्य पदका उम्मेदवार, पार्टी नगर कमिटीका पदाधिकारी तथा सदस्यहरु एवं जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो । समाजवादीले शनिबारदेखि सिद्धार्थनगरमा घरदैलो कार्यक्रम गर्ने जनाएको छ ।
विभिन्न कमिटी गठन
यसैबीच नेकपा एकीकृत समाजवादी सिद्धार्थनगर कमिटीले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर विभिन्न कमिटीहरु गठन गरेको छ । पार्टी जिल्ला सचिवालय सदस्य एवं नगर इन्चार्ज तारापति भण्डारीको संयोजकत्वमा एक हजार ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । यस्तै, पार्टी नगर कमिटी सचिव विनोद क्षेत्रीको संयोजकत्वमा ५ सय १ सदस्यीय युवा परिचालन कमिर्टी गठन गरिएको नगर अध्यक्ष रामबहादुर बस्नेतले जानकारी दिए ।
समाजवादीका उम्मेदवारहरु
समाजवादीले सिद्धार्थनग नगरपालिकामा मेयरमा कुलेन्द्र पुनलाई उम्मेदवार बनाएको छ । उपमेयरमा भने उसले उम्मेदवार उठाएको छैन । नगरपालिकाका १३ वटा वडामध्ये वडा नम्बर १ मा नगर कमिटी अध्यक्ष रामबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ । यस्तै, २ सुनिलकुमार पुन, ५ मा पुनम जयसवाल, ७ मा अजगर अली (सोनु), १२ मा बसन्त क्षेत्री र वडा नम्बर १३ मा नितेश जानन्धरलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । यी वडामा सदस्य पदमा पनि समाजवादीले उम्मेदवार बनाएको छ ।
सबै पदमा महिला उम्मेदवार
समाजवादीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा सबै पदमा महिला उम्मेदवार बनाएको छ । यहाँ अध्यक्षमा पुनम जयसवाललाई उम्मेदवार बनाएको समाजवादीले सदस्यहरुमा पनि महिलालाई नै उम्मेदवार बनाएको हो । सदस्यमा माया तेली, सिमा मित्तल, सलोनी हलवाई र निरादेवी सुनार छन् । समाजवादीकी केन्द्रिय सदस्य उमा काफ्लेले महिलालाई पार्टीले सधै सम्मानकासाथ अवसरहरुमा पनि अघि बढाउने बताइन् ।