गठबन्धनलाई विजयी गराई समाजवादकाे आधार तयार गर्नु श्रमजीविको मुख्य कार्यभार : प्रचण्ड

खबरपथ संवाददाता
१८ बैशाख २०७९, आईतवार ११:३४

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली श्रमजीविको हक, अधिकारको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका स्थानीय तह निर्वाचनको संघारमा रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मे ) को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले भनेका छन्, आगामी निर्वाचनमा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदूर एवं श्रमजीवि उत्पीडित जनसमुदायको आजको मुख्य कार्यभार हो ।

प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रुपमा लिन पनि उनले श्रमजीवि, कम्युनिष्ट क्रान्तिकारी, परिवर्तन र न्यायका पक्षधरलाई आग्रह गरेका छन् ।

संविधानको पूर्ण कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि आगामी दिनमा श्रमजीवि वर्गले नेतृत्वदायी भूमिका निर्वाह गर्न सकोस् भन्दै पुनः नेपाल र विश्वका मजदूरहरुमा बधाई तथा शुभकामना व्यक्त गर्दछु, उनले भनेका छन् ।

प्रचण्डले नेपालमा कम्युनिष्ट क्रान्तिकारी एवं श्रमजीवि जनसमुदायले आफ्नो अधिकारका निमित्त संघर्ष र वलिदानका अनेकौं कीर्तिमान कायम गरेको बताएका छन् । जनयुद्ध र विभिन्न मुक्तिकामी आन्दोलनहरुमा ग्रामीण क्षेत्रका किसान र मजदूरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको संघर्ष र बलिदानका कीर्तिमानकै कारण आज नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो, उनले भनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*