डुवानमुक्त वडा बनाउन मेरो प्रयास रहन्छ : पुन

खबरपथ संवाददाता
२१ बैशाख २०७९, बुधबार २१:४५

भैरहवा । नेकपा (एकीकृत समाजवादी) सिद्धार्थनगर नगरपालिका मेयर पदका उम्मेदवर कुलेन्द्र पुनले सिंगो नगरलाई डुवानमुक्त बनाउन आफ्नो प्रयास रहने बताएका छन् । उनले नगरमा ढलनिकासलाई व्यस्थित गरिएको भने पनि अझै धेरै ठाउँ वर्षा याममा डुवानमा पर्ने भएकाले यसको दीर्घकालीन समाधन आजको आवश्यकता रहेको जनाए ।

बुधबार सिद्धार्थनगर–७ मा भएको घरदैलो कार्यक्रममा बोल्दै पुनले भने, ‘यो वडाको भैरहवा गाउँमा बनेका नालाहरु साना छन्, वर्षामा पानी बग्न नपाउँदा डुवान हुने गरेको छ । यदि म निर्वाचित भएँ भने यसको म सधैका लागि समस्या समाधान गर्नेछु ।’

घरदैलोमा स्थानीयले सडक पूर्वाधार विकास र ढलनिकास व्यवस्थित नहुँदा वर्षामा डुवान र हिउँदमा धुलोको समस्या भोग्नु परेको पुन समक्ष गुनासो गरेका थिए । स्थानीयको गुनासो सुनेका पुनले यस अघि जनप्रतिनिधिको असक्षमताका कारण बनेका सडक पनि गुणस्तरीय नभएको र ढलनिकास व्यवस्थित नभएको भन्दै आफूलाई असवर दिए यी समस्या कहिल्यै नदोहोरिने गरी समाधान गर्ने जनाए ।

यो वडामा स्वच्छ खानेपानी, फोहोरमैला व्यवस्थापनको पनि समस्या रहेको जनाउँदै पुनले हरेक समस्या समाधान गर्न आफू तत्पर रहेको बताए । ‘यहाँ शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार सबैको समस्या छ’, उनले भने, ‘यी सबै समस्या समाधानको उपाय भनेको नेकपा एकीकृत समाजवादी र मेरो जित हो । हाम्रो जितमा मात्रै यी समस्या समाधान हुन्छ ।’

उनले आफूले नगर कस्तो बनाउने भन्ने स्पष्ट खाका लिएर मतदाता समक्ष आएको जनाउँदै एकपल्ट समाजवादीका प्रतिबद्धता पढेर मतदान गर्न उनले आग्रह गरे । ‘तपाइँहरुले अवसर दिनुस्, हामी गरेर देखाउँछौं’, उनले भने, ‘यदि काम गर्न सकेनौं भने अर्को पटक मत माग्नै आउँदैनौं ।’ घरदैलोमा वडाध्यक्षका उम्मेदवार अजगर अली मुसलमानले समृद्ध वडा सुखी वडाबासीको अभिभारा पूरा गर्न समाजवादीलाई मतदान गर्न आग्रह गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*