ऐतिहासिक बटौलीलाई पर्यटकीय गन्तव्य बनाउने गठबन्धनको योजना

खबरपथ संवाददाता
२३ बैशाख २०७९, शुक्रबार १९:४५

बुटवल । बुटवलको ऐतिहासिक ‘बटौली बजार’लाई पर्यटकीय गन्तव्य बनाउने नेपाली काँग्रेससहितको सत्ता गठबन्धनले योजना अगाडि सारेको छ । आसन्न स्थानीय तह निर्वाचनमा होमिएको गठबन्धनले बटौली नामले पहिचान बनेको पुरानो बुटवलको ऐतिहासिक महत्वलाई आत्मसात गर्दै त्यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा बिकास गर्ने योजना अगाडि सारेको हो ।

अंग्रेजलाई हराएको जीतगढी किल्लाको संरक्षण, त्यसको एतिहासिक महत्व झल्किने बृत्तचित्र निर्माण गर्ने र विश्वबजारमा प्रचारप्रसार गरी अन्तर्राष्ट्रिय पर्यटक आकर्षण गर्ने आफूहरुको योजना रहेको नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति समेत रहेका गठबन्धनको तर्फबाट बुटवलका मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले जानकारी गराउनु भयो ।

मेयर उम्मेदवार पाण्डेयसहित गठबन्धनका उम्मेदवारहरुले शुक्रबार बुटवल वडा नं. १ मा घरदैलो गरेका थिए । ऐतिहासिक ‘बटौली’ बुटवल उपमहानगरपालिकाकाले वडा नं. १ हो । सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको तर्फबाट बुटवल उपमहानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका खेलराज पाण्डे र उपमेयर पदमा एकीकृत समाजवादीका चिनबहादुर गुरुङ उम्मेदवार हुनुहुन्छ ।

त्यस अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अब्दुल रज्जाकले गठबन्धनका दललाई मत दिएर जिताउन त्यस क्षेत्रका मतदातासंग आग्रह गर्नुभएको छ । उहाँले अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताएको प्रतिफल नमिठो भएको बताउँदै विकासको उदाहरण हेर्नको लागि पनि अहिले काँग्रेसको नेतृत्वमा बनेको गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभएको हो । काँग्रेस रुपन्देहीका निवर्तमान सभापति समेत रहेका नेता रज्जाकले बुटवलको लागि बस्तीबस्ती र मनमनमा भिजेका व्यक्तिलाई मेयरको उम्मेदवार बनाएको बताउँदै त्यस्ता उम्मेदवारलाई जिताउँदा पछि पछुताउन नपर्ने पनि दावी गर्नुभयो ।

घरदैलोमा मेयर उम्मेदवार पाण्डेयले पुरानो बुटवल (बटौली) को ऐतिहासिकतालाई जगेर्ना गरी सम्पदा क्षेत्रको रुपमा बिकसित गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै उहाँले त्यस क्षेत्रको आय आर्जनलाई वढोत्तरी गर्नेगरी पर्यटन उद्योग-व्यवसाय सञ्चालनको लागि वातावरण बनाईने बताउनु भयो । त्यहा रहेका साना तथा कुटिर उद्योगको विकासको लागि योजना बनाएर अगाडि बढाउने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै उहाँले मणिमुकन्द सेन पार्कलाई व्यवस्थित र विस्तार गर्ने बताउनु भयो ।

घरदैलोमा उपमेयर पदका उम्मेदवार चिनबहादुर गुरुङले संविधान र व्यवस्था रक्षाको लागि गठबन्धन गरिएको बताउँदै नेपाली जनताको रगत पसिनाबाट प्राप्त उपलब्धि रक्षाको लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । उहाँले एमालेले जित्दा गएको पाँच वर्षमा के भयो भनेर फर्केर हेर्न पनि आग्रह गर्नुभयो । उहाँले आफूहरु निर्वाचित भएपछि गरेका बाचा अक्षरश पालना गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

घरदैलो कार्यक्रममा काँग्रेसका नेताहरु महासमिति सदस्य कुमार केसी, बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष महेशमान सिंह, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका पूर्व अध्यक्ष काजिमान श्रेष्ठ लगायतका नेताहरु पनि हुनुहुन्थ्यो । उहाँहरुले मतदातालाई निश्चिन्त भएर गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*