कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको अभाव
सुर्खेत । कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको अभाव भएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव हुँदा उपभोक्ता मारमा परेका छन् । हातहातमा क्यानी,बोत्तल लिएर पेट्रोल पम्पमा जानेको भिड बढेको छ ।
भारतीय भन्सारमा विद्युतिय सिस्टम परिवर्तन गरेकाले ईन्धन बोकेको नेपाल आउने ट्याङकरहरु नाकामै रोकिँदा तेल अभाव भएको नेपाल आयल निगमले जनाएको छ ।
सोमबार वीरेन्द्रनगरका पेट्रोल पम्पहरुमा तेल झन थालेपछि तेल हाल्न सवारी साधनको भिड लागेको हो । प्रहरीले सोमवार दिउँसोबाट भिड नियन्त्रण हम्मे /हम्मे परेको थियो । तेल हाल्नेको भिड्का कारण सुर्खेत नेपालगंज सडक खण्डको खजुरामा केही समय सडक अवरुद्ध भएको थियो। आज मंगलबार देखि पेट्रोलको हाहाकार कम हुने नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालयले जनाएको छ ।
हाहाकार भएको ३ दिनपछि सोमबार वीरेन्द्रनगरका ५ वटा पम्पमा ४ हजार लिटरको पेट्रोल झरेको हो । दिपमाला, बुलबुले, नारायण, गंगामाला र शंकर पेट्रोल पम्पमा पेट्रोल झरेको थियो । भारतीय भन्सारमा विद्युतिय सिस्टम परिवर्तन गरेकाले कोर्डमा समस्यामा आउँदा नेपाल आउने ईन्धन बोकेका गाडी नाकामै रोकिदाँ तेल अभाव भएको नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख राजकुमार केसीले बताए ।
‘भारतिय नाकामा सुर्खेत आउने ५ लाख लिटर पेट्रोल र १२ लाख लिटर डिजेल रोकिएको छ।’ नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख राजकुमार केसीले भने । उनका अनुसनर मंगलबारदेखि धनगढीबाट ल्याएर भएपनि वितरणमा सहज हुनेछ ।