लुम्बिनी प्रदेशको ४२ अर्ब ६३ करोडको बजेट सार्वजनिक
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड बजेट साार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले प्रदेश सरकारका आगामी आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न उक्त बजेट प्रस्तुत गरेका हुन् ।
चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ४० अर्ब ९५ करोडको बजेट विनियोजन गरेकोमा यो वर्ष आकार बढाएर विनियोजन गरिएको हो ।
चालू खर्चतर्फ १३ अर्ब ३२ करोड अर्थात् ३१.२६ प्रतिशत र पुँजीगत खर्च २४ अर्ब ४७ करोड अर्थात् ५७.५१ प्रतिशत रहने अनुमान गरिएको छ । स्थानीय तहको लागि ४ अर्ब ८३ करोड वित्तिय हस्तान्तरण गर्ने भएको छ ।
बजेटको ११ प्रतिशत स्थानिय तहमा जाने भएको छ । कुल बजेटमध्ये खर्चको स्रोत तर्फ आन्तरिक राजस्वबाट ३ अर्ब १० करोड, राजस्व बाँडफाँडबाट १५ अर्ब ३५ करोड र रोयल्टीबाट ७० करोड हुने अनुमान गरिएको छ ।
संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान ८ अर्ब ५४ करोड, सशर्त अनुदानबाट ८ अर्ब ७१ करोड, समपूरक अनुदानबाट ७३ करोड, विशेष अनुदानबाट ४८ करोड छ । चालू आर्थिक वर्षको बचत रकम ४ अर्ब रहने र आन्तरिक ऋण १ अर्ब परिचालन हुने अनुमान गरिएको छ ।