राष्ट्र बैंकले १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै

खबरपथ संवाददाता
६ असार २०७९, सोमबार १३:५१

काठमाडौं। नेपाल राष्ट्र बैंकले १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै पाँच वर्षे अवधिका लागि उक्त विकास ऋणपत्र बिक्री हुन लागेको जानकारी दिएको हो ।

बोलकबोलको प्रक्रियाबाट ब्याजदर निर्धारण हुने सो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । सो ऋणपत्रको धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋणसमेत लिन सकिन्छ ।

इच्छुक खरिदकर्ता अप्रतिस्पर्धामा पनि सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धीले निष्कासित रकमको ८५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड र अप्रतिस्पर्धीले १५ प्रतिशत अर्थात् दुई अर्ब २५ करोड बराबरको ऋणपत्र खरिद गर्न सक्नेछन् ।

खरिदकर्ताले घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंक बराबर खरिद गर्न पाउनेछ । सो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड मार्फत हुने सूचनामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*