स्थापना दिवशका अवसरमा रक्तदान र आश्रममा खाना
बुटवल । रुपन्देही उद्योग संघले आफ्नो ४५ औं स्थापना दिवश एवम उद्योग दिवशका अवसरमा विहीवार बुटवलमा रक्तदान तथा मानव सेवा आश्रममा त्यहाँ रहेका सदस्यहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।
संघले दुई छुट्टा छुट्टै कार्यक्रमको अयोजना गरी रक्तदान र खाना खुवाएको हो । आगामी पुस ७ गतेबाट बुटवलमा आयोजना गर्न लागेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थल बुटवल मण्डपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको थियो ।
रक्त सञ्चार केन्द्र, बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रमको सुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि संघका पूर्व अध्यक्ष बोनिन पियाले संघको महत्वपूर्ण कार्यक्रम प्रदर्शनी आयोजना गर्न लागिरहेको अवस्थामा पनि सामाजिक उत्तरदायित्वलाई नर्विसेर संघले आयोजना गरेको रक्तदान कार्यक्रमले सबै उद्योगीको शिर उँचो बनाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनु भयो ।
कार्यक्रममा संघका अर्का पूर्व अध्यक्ष श्यामबहादुर पाठकले रुपन्देही उद्योग संघको विगतको इतिहासलाई बचाउँदै समाजमा स्थापित भएर अगाडि बढ्न धेरै चुनौतीहरु रहेको उल्लेख गर्दै समाज प्रतिको दायित्वलाई कहिल्यै विर्सन नहुने धारणा राख्नु भएको थियो ।
संघका अध्यक्ष माधव प्रसाद पौडेलले संघका गतिविधिहरुलाई अगाडी बढाउने क्रममा सचेत र संयमित भएर लागेको बताउँदै उहाँले संघले विगतदेखि गर्दै आएका कार्यक्रमलाई निरन्तरता दिने र नयाँ कार्यक्रमहरु थप्दै जाने प्रतिवद्धता जनाउनु भएको थियो ।