आजदेखि तिलोत्तमा गोल्डकप प्रतियोगिता शुरु
बुटवल । २२ औं संस्करणको तिलोत्तमा गोल्डकप प्रतियोगिता २०७९ आजदेखि शुरु हुदैछ । बुटवल ११ देबिनगरस्थित एन्फा एकेडेमी खेल मैदानमा हुनेछ । उद्घाटन खेलमा आयोजक रुपन्देही–११ र सुदुरपश्चिमाञ्चल फुटबल संघबीच प्रतिस्पर्धा हुने भएको हो ।
प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक संस्था रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ । दुई विभागीयसहित ८ टिमले उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताको विजेता टिमले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने छन् । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।
सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल, विधागत रुपमा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कृत गरिने छ । प्रतियोगितामा करेन्ट रुपन्देही –११ सहित मनाङ मस्र्याङ्दी क्लब काठमाडौ, थ्री स्टार क्लब ललितपुर, नेपाल पुलिस क्लब काठमाडौ, एपिएफ क्लब काठमाडौ, हिमालयन शेर्पा क्लब काठमाडौ, फ्रेन्ड्स क्लब काठमाडौ र सुदुरपश्चिम ११ गरी आठ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।