बुटवलको एक वर्षे उपलब्धी सार्वजनिक

खबरपथ संवाददाता
९ जेष्ठ २०८०, मंगलवार १६:५३

बुटवल। बुटवल उपमहानगरपालिकाले १ वर्षका उपलब्धि सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी उपमहानगरपालिकाले गत स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले पदभार ग्रहण गरेको जेठ ९ गते  १ वर्षका उपलब्धि सार्वजनिक गरेको हो ।
बुटवल उपमहानगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले ४९ बुँदामा भिडियो सामग्रीसहितको उपलब्धि सार्वजनिक गर्नुभयो ।
उपलब्धि तथा प्रयासहरु सार्वजनिक गर्दै उहाँले पदभार ग्रहण गरेदेखि बुटवल र बुटवलबासीको हितमा नीति निर्माण, बजेट निर्माण र कार्यान्वयन तथा संघ र प्रदेश सरकार, विभिन्न सरकारी कार्यालयहरु, सामाजिक संघसंस्थासँग सहकार्य र समन्वय गरी काम गर्दै आएको बताउनुभयो ।
उहाँले बुटवलबासीले दिएको मतको उच्च सम्मान गर्दै आगामी ४ वर्षमा बुटवलको विकासमा फड्को मार्नेगरी काम गर्ने बताउनुभयो । जनताको सेवकका रुपमा भूमिका निर्वाह गरिरहेको भन्दै उहाँले सधैभर बुटवल र बुटवलबासीको पक्षमा हुने कामलाई लिएर संघ र प्रदेश सरकारलाई झकझक्याइरहेको बताउनुभयो ।

‘म यो वार्षिक समीक्षा कार्यक्रममार्फत पुनः दोहो¥याउन चाहन्छु, हामी जनताका सेवक हौं, यहीअनुरुप प्रतिबद्ध भएर समृद्ध बुटवल बनाउने अभियानको महायज्ञमा निरन्तर सेवाभावले लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु’–उहाँले भन्नुभयो–‘स्थानीय निर्वाचनमा बुटवलबासीले दिनु भएको अमूल्य मत, माया, सद्भाव र प्रेमलाई आफ्नो मन मस्तिष्कमा राखेर बुटवलबासी र बुटवलको हितलाई सर्वोपरि मानी आफ्नो क्षमता र विवेकले भ्याएसम्म निरन्तर समर्पित भई खटिइरहने प्रतिबद्धता जनाउँदछु ।’

नगरप्रमुख पाण्डेयले एक वर्षमा बुटवलका सबै क्षेत्र र समुदायलाई समेटेर अगाडि बढ्ने र सबैलाई बुटवल उपमहानगरपालिकाप्रति अपनत्व महसुस गराउने उदेश्यका साथ चरणबद्ध रुपमा बुटवलका १० हजार भन्दा बढी जनासँग प्रत्यक्ष भेटघाट र संवाद गरी क्षेत्रगत सुझाव संकलन गरेको र त्यसकै आधारमा योजना निर्माण र कार्यान्वयन गर्दै जाने बताउनुभयो ।
‘बुटवलका मुख्य चुनौतीका रुपमा देखिएका ज्योतिनगर–लक्ष्मीनगर, पाखापानी क्षेत्रको पहिरो, तिनाउ नदी कटान, अव्यवस्थित बसोबास, भूमिहिन, सुकुम्बासी समस्या, छाडा चौपाया व्यवस्थापन, ट्राफिक व्यवस्थापनजस्ता विषयमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तथा स्थानीय सरोकारवालासँग पटक पटक छलफल गरी समाधानका लागि अगुवाई गरिरहेका छौं’–उहाँले भन्नुभयो ।
कार्यक्रममा सार्वजनिक उपलब्धि तथा प्रयासहरुमा बुटवल १३ र १७ मा१५/१५ बेडका अक्सिजन सहितका दुई अस्पताल निर्माण सम्पन्न हुने चरणमा रहेको र चालु आर्थिक वर्षभित्रै उद्घाटन गरी आगामी साउनदेखि नै सञ्चालनमा आउने उहाँले बताउनुभयो ।
आधुनिक पशु बधशाला निर्माण सम्पन्न भई छिटै नै सञ्चालन गर्ने तयारीमा रहेको र बुटवलका मुख्य सडक क्षेत्रका अव्यवस्थित ठेला हटाइ वडाको आवश्यकता र समय निर्धारण गरी ठेला सञ्चालन गर्न अनुमति दिने निर्णय भएको प्रमुख पाण्डेयले बताउनुभयो ।
बुटवल–१५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने कामका लागि इ आइ ए भईरहेको, नगरको मुख्य राजमार्ग, बस टर्मिनल, सुखौरा खोला, १६–३६ नहर, कालिका पथ लगायतका सार्वजनिक स्थानहरुको नियमित तथा विशेष सरसफाई अभियान सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रममा बुटवल ३ र ४ का ज्योतिनगर–लक्ष्मीनगर तथा पाखापानी पहिरोबाट प्रभावित क्षेत्रहरुमा पर्खाल, कल्भर्ट, जाली र वृक्षरोपण गरी सुरक्षित बनाउने, ज्योतिनगरका पहिरो क्षेत्रका जोखिमयुक्त घरहरुको प्रकोप व्यवस्थापन कोषबाट बीमा गर्ने प्रमुख पाण्डेयले बताउनुभयो ।
यस्तै, तिनाउ नदी किनार, सुखौरा खोला किनारका बस्तीमा बाढीले जोखिम पु¥याउनबाट रोक्नका लागि नदीको विभिन्न स्थानमा तटबन्ध गर्ने, च्यानलाइज गर्ने र तारजाली लगाउने काम भईरहेको उपलब्धि तथा प्रयासमा समेटिएको छ ।
यस्तैगरी, सडक क्षेत्रमा अव्यवस्थित रुपमा रहेका विद्युत, इन्टरनेट, केवलका तारहरुले सहरको सौन्दर्य बिगारेका कारण व्यवस्थित गर्ने काम निरन्तर सञ्चालन भइरहेको, चार प्रकारका जटिल रोगहरु मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका १ सय ९० जना बिरामीहरुलाई मासिक ५ हजार, जटिलरोग अनुदान सहयोग कार्यक्रम अन्तरगत १ सय ४५ जनालाई प्रतिबिरामी १७ हजार बिरामीकै बैंकखातामा उपलब्ध गराइएको र आठ प्रकारका जटिल रोगीमध्येका १ सय ४५ जनालाई संघीय सरकारमा र ४३ जनालाई प्रदेश सरकारमा सिफारिश गरिएको उपलब्धिमा समेटिएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइले बुटवलले वार्षिक उपलब्धि सार्वजनिक गर्ने अभ्यासले स्थानीय सरकारलाई जवाफदेही र उत्तरदायी बनाउने बताउनुभयो । उहाँले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले बुटवलले जसरी प्रभावकारी रुपमा सेवाप्रवाह गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले निर्वाचित भएर आएदेखि स्थानीय, प्रदेश र संघीय सरकारकै काममा आफुहरुले समय खर्चेको बताउनुभयो । उहाँले संघ र प्रदेश सरकारले गर्ने काममा केही समन्वय अभावका कारण केही योजनाहरु अलमलमा परेको र स्थानीय सरकारले समन्वय र सहकार्य गर्दै आएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलको सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउँदै सरल पहुँच र सहज सेवा उपलब्ध गराउन सधै तयार रहेको बताउनुभयो ।
कार्यक्रममा राजनीतिक दल, संघसंस्था, बुटवल क्षेत्रका सरकारी कार्यालयका प्रमुखहरुलगायतले बोल्दै बुटवललाई समृद्ध बनाउनका लागि आपसी सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*