प्रेस युनियनको स्थापना दिवसमा रक्तदान : ५१ युनिट रगत संकलन
बुटवल । नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा रक्तदान गरिएको छ । नेपाल प्रेस युनियन रुपन्देहीको आयोजनामा रक्त सञ्चार सेवा केन्द्र बुटवलमा भएको कार्यक्रममा ५१ जनाले रक्तदान गरेको युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले जानकारी गराउनु भयो ।
त्यसमध्ये १५ जना पहिलो पटक रक्तदान गर्ने नयाँ रक्तदाता हुन् । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य गंगा शाहीले मानवको जीवन रक्षासंग जोडिएको रक्तदान कार्यक्रम राखेर राम्रो कामको सञ्चार गरेको बताउनु भयो । उहाँँले लोकतन्त्रको स्थापनामा पत्रकारहरुको ठूलो भूमिका रहेको बताउँदै यसको रक्षा तथा संस्थागत विकासमा पनि योगदान गर्न आग्रह गर्नु भयो ।
त्यस अवसरमा अध्यक्ष नेपालले श्रमजीवि पत्रकारहरुको पक्षमा भूमिका खेल्न र सोही अनुसारको कानुन बनाउन नेपाली काँग्रेस, राजनीतिक दलहरु र सरकारको ध्यानाकर्षण गराउनु भयो ।
रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यले रगतको उपलब्धता र रक्तदान संस्कारको विकासको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक तथा युनियन रुपन्देहीकी कार्यसमिति सदस्य कल्पना शर्माले बताउनु भयो ।
प्रजातन्त्र पुनस्थापनापछि प्रेस स्वतन्त्रता र संघसंस्था खोल्न पाउने अधिकार प्रत्याभूत भएसँगै श्रमजीवी पत्रकारका हक, हित र अधिकार प्राप्तिका लागि लोकतन्त्रवादी पत्रकारहरुको सक्रियतामा २०४८ जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना गरिएको थियो । हाल मुलुकभर ७ हजार ४ सय भन्दा वढी पत्रकार प्रेस युनियनमा आवद्ध छन् । त्यस्तै रुपन्देहीमा विभिन्न सञ्चार गृहमा कार्यरत २ सय बढी पत्रकार तथा सञ्चारकर्मी प्रेस युनियनमा आवद्ध रहेको युनियन रुपन्देहीका सचिव कपिल ज्ञवालीले जानकारी गराउनु भयो । युनियनको स्थापना दिवसको अवसरमा हिजो, आज र भोली केन्द्रीय समिति तथा देशभरका शाखाहरुमा विभिन्न कार्यक्रम गरि मनाईदैंछ ।