सुन काण्डको जरैसम्म अनुसन्धान हुनुपर्छ – पौडेल
बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सुन काण्डको जरैसम्म अनुसन्धान हुनुपर्ने बताएका छन् ।
आज बुटवलमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले कुनै तल्लो तहको मजदुर वा कर्मचारीलाई दोष दिएर एक/एक क्वीन्टल सुन काण्डमा सरकार उम्कन नपाउने बताएका छन । उनले सुन काण्डमा राम्रोसँग अनुसन्धान हुन नसकेमा गृहमन्त्री र अर्थको राजीनामा माग्ने अवस्था समेत आउन सक्ने उल्लेख गरे ।
उनले मुलुकमा भ्रष्टाचार बढेको बताउँदै रोक्नको लागि दलहरु जिम्मेवार हुनुपर्ने बताए ।
फरक प्रसङ्गमा नेता पौडेलले सङ्घीयतालाई बलियो बनाउनका लागि सांसदहरूको सङ्ख्या घटाउनु पर्नेमा जोड दिए ।
हालै सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकमा यो विषयले प्रवेश पाएको बताउँदै उनले सङ्घीय संसद्को सङ्ख्या घटाएर २०१ सदस्यीय बनाउने र सोही अनुसार प्रदेशसभामा समेत सङ्ख्या घटाउनु पर्ने उल्लेख गरे । घटाइएको सङ्ख्यामा सबै जातजाति, समुदाय, महिला, सीमान्तकृत लगायत सम्पूर्णको समान प्रतिनिधित्व हुने गरी निर्वाचन प्रणाली लागू गर्नुपर्ने उनले बताए । यसरी राजनीतिक प्रशासन र खर्चलाई घटाएर ब्युरोक्रेसीमा हुने खर्चलाई पनि घटाउन सकिने उनले बताए ।
पुँजीगत खर्चभन्दा चालू खर्च ४ गुणा बढी भएको बताउँदै उनले त्यसलाई पनि पूरा खर्च गर्न नसकिएको बताए । विगत १५ वर्षको तथ्याङ्कमा सबैभन्दा बढी ५८ प्रतिशत मात्रै पुँजीगत खर्च हुन सकेको बताउँदै उनले भ्रष्टाचार, अनियमितताले नै यति धेरै बेरुजु निस्किएको उल्लेख गरे । यसको नियन्त्रणका लागि पनि संसद् सङ्ख्या घटाउनु पर्नेमा जोड दिए ।