जिल्ला स्तरीय स्नुकरको उपाधि खड्कालाई

खबरपथ संवाददाता
२८ भाद्र २०८०, बिहीबार २०:१०

बुटवल । सातौं जिल्लास्तरीय स्नुकर प्रतियोगिताको उपाधि बुटवलका शंकर खड्काले जितेका छन् ।
खस्यौली स्नुकर क्लब बुटवलमा बिहीबार बेस्ट अफ इलाभेनका आधारमा खेलाइएको फाइनल खेलमा भैरहवाका शिशिर गुरुङलाई ६–४ ले पराजित गर्दै शंकर खड्काले उपाधि जितेका हुन् ।
रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा भएको प्रतियोगितामा रुपन्देहीका १२८ जना खेलाडी सहभागी भएका थिए । उपाधि विजेता खड्काले ५० हजार र उपविजेता गुरुङले २५ हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा ५५ स्कोरसहित खड्काले हाई स्कोररको नगद १० हजार पुरस्कार पनि हात पारे । यस्तै उदियमान खेलाडीमा सम्बन्ध विक र अनुशासित खेलाडीमा सागर गाहा र डेभिड गौचनले समान ५ हजार रुपैयांका दरले नगद पुरस्कार पाएका छन् ।
विजयी खेलाडीहरुलाई बुटवल उपमहानगरपाकिलाका प्रमुख खेलराज पाण्डेयले पुरस्कार र प्रमाणपत्र प्रदान गरे । सो अवसरमा उनले स्नुकल खेललाई पनि उपमहानगरले आधिकारिक खेलको मान्यता दिने बताए ।
संघका अध्यक्ष सुजन पुनले स्नुकर खेललाई राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गर्न तिनै तहका सरकारको ध्यानाकर्षण गराए । उनले स्नुकर खेल विश्वमा पुरानो र प्रतिष्ठित खेल भएपनि नेपालमा ओझेलमा परेको गुनासो गरे ।
समापन समारोहमा संघका पुर्व सचिव एवं बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना,संघका प्रथम उपाध्यक्ष बासु प्रधान, सचिव प्रकाश क्षेत्री लगायतले संघले आगामी दिनमा राष्ट्रियस्तरको प्रतियोगिता गर्ने बताए ।
समारोहमा प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेका संघसंस्थालाई सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*