बुटवल उपमहानगरले नलगाड पुगेर बुझायो खाद्यान्न र लत्ताकपडासहितको राहत सामग्री

खबरपथ संवाददाता
२१ कार्तिक २०८०, मंगलवार १५:१४

बुटवल । बुटवल उपमहानगरपालिकाले जाजरकोटको नलगाड नगरपालिकामा पुगेर भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री हस्तान्तरण गरेको छ।
मंगलबार नलगाड नगरपालिका पुगेको बुटवलउपमहानगरपालिकाको टोलीले कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहलाई हस्तान्तरण गरेको हो।
राहत सामग्री लिएर बुटवल उपमहानगरपालिकाबाट सुरेन्द्र बहादुर कार्की, दीपक राना, पत्रकारहरु ललित पाण्डे र कपिल अधिकारी जाजरकोटको नलगाड पुगेका हुन्।
बुटवल उपमहानगरपालिकामा आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार बुटवल उपमहानगरपालिकाले आइतबार राती पठाएको चामल, दाल, तोरीको तेल, नुन, सोयाबिन, ब्लाङकेट र म्याट गरी एक ट्रक सामान मंगलबार हस्तान्तरण गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।
प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाले २५ लाख रुपैयाँ, जनप्रतिनिधिले थप ५ लाख रुपैयाँ र कर्मचारीको तर्फबाट समेत सहयोग गर्ने निर्णय अनुसार प्रभावित क्षेत्रको माग अनुसार खाद्यान्न र लत्ताकपडा पठाइएको बताए। उनले बुटवलले बुटवलभित्रका संस्थाहरुलाई एकद्वार प्रणालीमार्फत राहत सामग्री पठाउने व्यवस्था भएकाले सोहीअनुसार गर्नका लागि आह्वान गरेका छन्।
बुटवल उपमहानगरपालिकाले बुटवलका संघसंस्था र अन्य सहयोगीहरुलाई एकद्वार प्रणालीबाट राहत सामग्री पठाउन अपील गरेको छ। जसका लागि उपमहानगरपालिकाले विपद शाखा प्रमुख योगेश चापागाइँलाई फोकल पर्सन तोकेको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*