लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाकाे तयारी अन्तिम चरणमा, ५० करोड कारोबार लक्ष्य
बुटवल । बुटवलमा अागामी पुस ५ गतेदेखि हुने लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाकाे तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।
रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ पुस ५ गतेदेखि १८ गतेसम्म मेला संचालन हुन लागेको हो ।
आयोजकले बुधबार मेला स्थलमा पत्रकार सम्मेलन गरी मेलाको तयारी अन्तिम चरण पुगिसकेको जानकारी गराएको हो ।
यो पटककाे मेला विगतको भन्दा फरक तरिकाले संचालन हुने
मेला मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद घिमिरेले जानकारी दिए । साथै मेलामा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य रहेको संयोजक घिमिरेले बताए ।
यस पटको एक्स्पोमा ५०० भन्दा बढी स्टलहरु रहने र अधिकांश स्टल बुक भइसकेको संयोजक घिमिरेकाे भनाइ छ । मेलामा गौतमबुृद्धकाे जन्मस्थल लुम्बिनीसहित प्रदेश भित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेका सम्पदाहरु एवं स्थलहरुको प्रचारप्रसार गरिने उनले बताए ।
उनलेे कोरोना पछि बुटवलको व्यापार व्यवसायमा केही शिथिलता भएको बताउँर्दै थला परेको अर्थतन्त्रलाई चलायमान बनाउन मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरे । मेलालाई सफल बताउन ४५ सदस्यीय मूल आयोजक समिति, ४५ वटा उपसमिति गठन गरिएको र गठित उपसमितिले आवश्यक तयारीका काम गरिहेको प्रचारप्रसार संयोजक फर्सुराम पन्थले बताए ।
मेला अवलोकनका लागि ६० रुपैयाँ टिकटदर निर्धारण गरिएको उनले बताए ।