सनातनी युवाहरुको रूपन्देहीमा भेला युवाहरू एकीकृत भएर धर्मरक्षाको लागि जाग्नुपर्नेमा जोड
तिलोतमा । वैदिक सनातन धर्मका अनुयायी युवा एवं धार्मिक अभियन्ताहरूले सनातन धर्म रक्षाको निमित्त सबै एकीकृत भएर लाग्नुपर्नेमा जोड दिएका छन्। शुक्रबार रूपन्देहीको तिलोत्तमास्थित वनवाटिकामा सम्पन्न भएको
सनातनी युवा मञ्चको प्रथम वार्षिक उत्सवमा युवाहरूले
समाजमा आध्यात्मिक चेतना जगेर्ना गर्न युवाहरू जाग्नुपर्ने आवश्यकता महसुस गरेका हुन्।
मञ्चका अध्यक्ष प्रेमसुजन शास्त्रीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि सरस्वती संस्कृत विद्यापीठका प्राचार्य बालकृष्ण पाठकले सम्पूर्ण वेदपुराण श्रुतिस्मृतिको सार गीता भएको बताउँदै गीताको सार समग्र लोकको कल्याणका निमित्त परिभाषित हुने गरी बुझाउनुपर्नेमा जोड दिनुभएको थियो। सबै सनातनीहरूलाई एकजुट गराउँदै पछिल्लो समय धर्मान्तरण गरेकालाई स्वधर्ममा फर्काउन मञ्चले अगुवाई गर्न आग्रह समेत गर्नुभएको थियो।
त्यस्तै विशिष्ट अतिथि विश्व हिन्दु महासङ्घ रुपन्देहीका उपाध्यक्ष प्राध्यापक डा. बाबुराम ज्ञवालीले सनातन ज्ञानको खोज अनुसन्धानमा लाग्न आग्रह गर्नुभएको थियो। ज्ञवालीले सनातनी मञ्चले गरेका रचनात्मक कार्यलाई विश्व हिन्दु महासंघले प्रोत्साहित गर्ने समेत बताउनुभएको थियो। विशिष्ट अतिथि भीमकान्त पन्थीले सनातनदेखि अँगाल्दै आएको आफ्नो धर्म संस्कृति र परम्परालाई कुशलतापूर्वक आआफ्नो तरिकाबाट अनुसरण गरिरहन प्रेरित गर्नुपर्नेमा जोड दिनुभएको थियो।
अर्का विशिष्ट अतिथि प्राध्यापक पूर्णचन्द्र न्यौपानेले
जनमत्सव मनाउँदा वैदिक विधि अनुसार जन्मोत्सव मनाउन प्रेरित गर्नुपर्ने बताउँदै सनातनी युवा मञ्चका दृढ संकल्पहरू पूरा हुन् भन्ने शुभकामना समेत प्रदान गर्नुभएको थियो । विशिष्ट अतिथि नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष चक्रपाणि डुम्रेले सनातनी मञ्चले छोटो समयमै गरेका धार्मिक गतिविधिको प्रशंसा गर्दै यस्ता गतिविधिलाई राष्ट्रव्यापी रूपमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभएको थियो। मञ्चले गरेका कार्यहरूमा ज्योतिष परिषद्ले सदैव सहकार्य समेत गर्ने बताउनुभएको थियो।
अतिथिहरू विश्व ज्योतिष महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष जनार्दन न्यौपाने, धार्मिक अभियन्ताहरू कुस्माकर न्यौपाने ,विष्णु पौडेल ,चुरामणी पाण्डे,त्रिभुवन न्यौपाने, लालचन भण्डारीले शुभकामना मन्तव्य प्रदान गर्नुभएको थियो।
मञ्चका अध्यक्ष प्रेमसुजन शास्त्रीले सनातन धर्मको यथार्थ बोध गराउँदै धर्मका नाममा भएका विकृति र विसंगतिलाई निर्मूल पार्ने र सभ्य समाज निर्माण गर्ने मुख्य उद्देश्य राखेर सनातनी युवा मञ्चको स्थापना भएको जनाउनुभएको थियो। उहाँले सनातनी युवा मञ्चले सबै धार्मिक संघसंस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने समेत बताउनुभएको थियो।
मञ्चका सचिव निशान्त अधिकारीको स्वागत एवं सहसचिव अर्जुन भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा करिब १०० जना भन्दा बढी धार्मिक अभियन्ता एवं शुभेच्छुकहरूको उपस्थिति रहेको सचिव अधिकारीले जानकारी दिनुभयो।