१६ औं राष्ट्रिय धान दिवस मनाइँदै

खबरपथ संवाददाता
१५ असार २०७६, आईतवार ०८:२८

बुटवल । मानो रोपेर मुरी फलाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ । धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण भन्ने नाराका साथ आज १६ औं राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । सरकारले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सवको रुपमा मनाउने गर्दछ ।

यस वर्ष दिवसको मुख्य कार्यक्रम राजापुर नगरपालिका ८, बर्दियामा आयोजना हुँदै छ । कार्यक्रममा सहभागी हुन कृषिमन्त्री चक्रपाणी खनाल बलदेव , कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेल, नेपाल कृषि अनुसन्धान परिषद नार्कका महानिर्देशक टेकबहादुर गुरुङ, सांसदलगायतको टोली बर्दिया पुगिसकेको छ ।

सोह्रौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, मूल आयोजक समितिका अध्यक्ष समेत रहेका महानिर्देशक पौडेलले धान खेतीमा यान्त्रिकीकरणबाट उत्पादकत्व समेत करिब १५ प्रतिशतले वृद्धि हुने देखिएकाले आगामी दिनहरुमा धानखेतीको प्रवर्द्धनका लागि वैज्ञानिक यान्त्रिकीकरणलाई बढावा दिनु आवश्यक रहेको बताए ।

उनले भने, ‘नेपाल कृषि अनुसन्धान परिषदबाट धानको उत्पादन र उत्पादकत्व वृद्धिका लागि भौगोलिक परिवेशअनुसार विभिन्न जात एवं उन्नत प्रविधिहरु सिफारिस भएता पनि उक्त प्रविधिहरु कृषकमाझ अपेक्षाकृत रुपमा पुग्न सकेको पाइँदैन । यसर्थ, धानको उत्पादन र उत्पादकत्व वृद्धिका लागि प्रविधि प्रसार र यान्त्रिकीकरणलाई सँगसँगै लैजानु आजको आवश्यकता हो ।
नेपालमा २०६२ देखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन लागिएको हो । आजको दिनलाई रोपाई महोत्सव र दही चिउरा खाने दिनका रुपमा लिने गरिन्छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*