लुम्बिनी भ्रमण वर्ष २०७६ : सात प्रदेशमै रोड–सो गरियो

प्रकाश न्यौपाने
१५ असार २०७६, आईतवार १७:०४

भैरहवा ।

बुद्धजन्मस्थल लुम्बिनीसहित प्रदेश पाँचका पर्यटकीय गन्तव्य भ्रमणको निम्तो बाँड्दै रोड–सोमा निस्किएका पर्यटन व्यवसायीले सातै प्रदेशमा कार्यक्रम गरी निम्तो दिएका छन् । आइतबार मात्रै ४ दिनको पश्चिम नेपालको रोड–सो सकेर फर्किएको व्यवसायीले जनाएका छन् । रोड–सोका क्रममा स्थानीय तह र प्रदेश सरकारलाई र उनीहरुमाफर्त् स्थानीयला निम्तो दिइएको कार्यक्रम संयोजक एवं सिद्धार्थ होटल एशोसिएसनका महासचिव रवीन्द्र शर्मा घिमिरले बताए ।

बिहीबार लुम्बिनीबाट सुरु गरि पश्चिम नेपालको कंचनपुरसम्मका स्थानीय सरकार, प्रदेश सरकार र आम नागरिकलाई निमन्त्रणा गरि फर्किएको घिमिरेले जनाए । ‘विश्व शान्तिको मुहान लुम्बिनीमा एकपटक भए पनि आउन सबैलाई आग्रह गरेका छौं, रोड–सोमा धेरैको साथ, सहयोग र समर्थन रह्यो । हामीले साँच्चिकै उत्साह पाएका छौं’, घिमिरेले भने, ‘कतिपय ठाउँका स्थानीय सरकारले त तत्कालै भ्रमण गर्ने आश्वासन दिएका छन् ।’ लुम्बिनीसहित कपिलवस्तु, नवलपरासी र अन्य स्थानमा रहेका बुद्ध जिवनीमा आधारित क्षेत्रहरूको प्रबद्र्धन, विकास र प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश पाँच सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ अन्तर्गत रोड–सो कार्यक्रम पश्चिम नेपालमा विभिन्न एक दर्जन ठाउँमा गरिएको हो ।

संघ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० लाई टेवा पुर्याउने र प्रदेश पाँचलाई मुलुककै पहिलो पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित लुम्बिनी भ्रमण घोषणा गरि मनाइरहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकृत शेषदत्त चौधरीले बताए । ठाउँठाउँमा स्थानीय तह प्रतिनिधि, सरोकारवाल, प्रदेश नम्बर ७ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लगायतका जनप्रतिनिधीहरुलाई लुम्बिनी आउन निमन्त्रणा गरिएको छ । प्रदेश सरकारले भ्रमण वर्षभर करिब २० लाख पर्यटक लुम्बिनी ल्याउने लक्षय लिएको छ ।

बर्दियामा त्यहाँका पर्यटन व्यवसायीसँग अन्तरक्रिया समेत गरिएको थियो । अन्तरक्रियामा बोल्ने वक्ताहरुले बर्दिया र लुम्बिनीलाई जोडेर पर्यटन विकास गर्दा आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिए । बर्दियाको बाघ हेर्ने आउने पर्यटक र लुम्बिनी आउने पर्यटक एकअर्का ठाउँमा आउजाउ गर्न सक्ने व्यवस्था मिलाउन सके प्रदेश समृद्धिको आधार तयार हुने पर्यटन विकास मंच बर्दिया अध्यक्ष मोहन चौधरीले बताए । ‘प्रदेश पाँचका मुख्य गन्तव्य भनेकै लुम्बिनी र बर्दिया राष्ट्रिय निकुञ्ज हुन्, यी दुबै ठाउँको फरकफरक विशेष छ, त्यसैले हरेक हिसावले यी ठाउँ जोडेर अन्य गन्तव्यको विकास गर्नुपर्छ’, उनले भने ।

उनले पर्यटन प्रवद्र्धन गर्नका लागि राज्यले अझै ध्यान दिनुपर्ने बताए । विश्वका पर्यटकको ध्यान लुम्बिनी र बर्दिया निकुञ्जमा पुर्याउनका लागि सरकार र निजी क्षेत्रले अझै सहकार्य गर्नु पर्ने मंचका सचिव रेशम थापाले बताए । पर्यटन मन्त्रालयका सचिव चौधरीले लुम्बिनीसँगै अन्य गन्तव्यमा विकास, प्रचारप्रसार र पर्यटक भित्र्याउन नै सरकारले भ्रमण वर्ष घोषणा गरेर प्रचारात्मक काम गरिरहेको बताए । ‘सरकारको नजरमा सबै गन्तव्य बराबर हुन्, हामीले विस्तारै सबै ठाउँको विकास र प्रबद्र्धन गर्न चाहन्छौं’, उनले भने ।

रोड–सो संयोजक घिमिरले पहिलोपटक पर्यटन प्रबद्र्धन गर्ने कार्यमा प्रदेश सरकारले निजी क्षेत्रलाई धेरै जिम्मेवारी दिइ सहकार्य गर्नुले सबै क्षेत्रमा सकारात्मक सन्देश गएको बताए । ‘सरकारी काममा निजी क्षेत्रको हातेमालो भएको छ, प्रत्यक्ष संलग्न हुन पाइएको छ । अब सबैले सरकारलाई साथ दिएर प्रदेशलाई विश्व पर्यटन बजारमा मुख्य पर्यटकीय गन्तव्य बनाउनतर्फ लाग्नुपर्छ’, उनले भने । रोड–सोमा मायादेवी मन्दिरको प्रतिकात्मक रुप, बुद्ध मूर्तिलाई गाडीमा सजाएर माइकिङ गर्दै, प्लेकार्डसहित प्रदर्शन गरी सबैमा लुम्बिनी भ्रमणका लागि सामूहिक आग्रह गरिएको थियो ।

यसअघि पहिलो चरणमा पाल्पा, पोखरा हुँदै काठमाडौंसम्म र दोस्रो चरणमा पूर्वी नेपालमा रोड–सो गरिएको थियो । चौंथो चरणअन्तर्गत् साउन–भदौतिर भारतको कुशिनगर, सारनाथ लगायतका क्षेत्रमा रोड–सो कार्यक्रम गर्ने प्रदेश सरकारले जनाएको छ । यस्तै होटल एशोसिएसनले आफ्नै पहलमा थाइल्याण्ड, भियतनाम, लाओस, कम्बोडिया, सिंगापुर, मलेसिया, श्रीलंका, चिन लगायतका देशमा समेत लुम्बिनीको प्रचार एवं प्रबद्र्धन गर्ने कार्यक्रमको योजना बनाएको छ । रोड–सोमा अघिअघि कार्यक्रमको ब्यानर, पछि जिपमा बुद्ध मूर्ति अनि झाँकी, पछि प्रचारकहरु हातमा प्लेकार्ड, राष्ट्रिय झण्डा अनि बुद्ध झण्डासहित सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*