महिलालाई ए फोरको ४५ दिने केश श्रृंगार तालिम

खबरपथ संवाददाता
१७ असार २०७६, मंगलवार २१:३२

तिलोत्तमा ।
सिद्धार्थनगर नगरपालिकामा स्थायी बसोबास गर्ने महिलाहरुलाई सिपमूलक कार्यक्रम अन्तर्गत सञ्चालित निःशुल्क ४५ दिने केश श्रृंगार तथा अपग्रेडिङ तालिम समापन भएको छ । ए फोर ट्रेनिङ सेन्टर प्रा.लि. भैरहवाको आयोजना तथा व्यावसायिक तथा सीप वकास तालिम प्रतिष्ठान बुटवलको सहयोगमा तालिम सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले रोजगारसँग जोडिन नसकेका महिलाहरु यस्ता तालिमबाट आयआर्जनमा लाग्ने बाटो खुल्ने भन्दै तालिमको उपयोग गर्न आग्रह गरिन् । उनले महिलाहरु आत्मनिर्भर भएमात्र परिवार खुशी र सुखी हुने भन्दै तालिमलाई केवल तालिममा मात्र सीमित नगर्न आग्रह गरिन् ।
सिप विकास तालिम प्रतिष्ठान बुटवलका कार्यकारी निर्देशक तिलकराम रिजालले सीपबिना कुनै पनि रोजगारका उपाय अवलम्बन गर्न नसकिने भन्दै तालिमले महिलाहरुमा सीप प्रदान गरेको र यसलाई व्यावहारिक जीवनमा प्रयोग भएमात्र उपलव्धि हासिल हुने बताए ।
तालिमका प्रशिक्षक केशरी पाण्डेले केश श्रृंगार जस्तो व्यवसाय महिलाहरुका निम्ति सजिलो रहेको र चुनौती पनि त्यत्तिकै रहेको भन्दै खली बसेर समय खेर नफाली सानोतिनो व्यवसाय गर्न सुझाव दिइन् ।
सहभागीको तर्फबाट बोल्दै रितु राना मगर र नम्रता पचभैयाले केश श्रृंगार तालिम निकै उपलब्धिमुलक भएको बताउँदै आफूहरु अव सीपको उपयोग गर्दै व्यावसायिक रुपमा अघि बढ्ने अठोट व्यक्त गरे ।
ए फोर ट्रेनिङ सेन्टर प्रा.लि. भैरहवाका प्रवन्ध निर्देशक हेमा बेल्बासे (के.सी.) ले संस्थाले यो वर्ष जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा पुगेर सीपमूलक तालिम प्रदान गरेको भन्दै सीप सिकेका युवायुवतीहरु ठूलो संख्यामा स्वरोजगार बनेको बताइन् ।
कार्यक्रममा व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान बुटवलका लेखा प्रमुख विष्णु प्रसाद भट्टराई, ए फोरकी कार्यक्रम संयोजक सुनिता पाठक लगायतले पनि बोलेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*