तिलोत्तमा लगानी सम्मेलन : १९ परियोजनामा २ अर्ब लगानी भित्र्याउने लक्ष्य

खबरपथ संवाददाता
२५ श्रावण २०७६, शनिबार ०७:३४

तिलोत्तमा । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र उद्योगलाई प्राथमिकतामा राख्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले तिलोत्तमा लगानी सम्मेलनको तयारी गरेको छ। आगामी असोज ९ गते हुने लगानी सम्मेलनको पुर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने तय भएको छ।

नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी विभिन्न १९ वटा परियोजनामा लगानी भित्र्याउने गरी लगानी सम्मेलनको तयारी गरिएको जनाएको छ। नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले कृषि, पर्यटन, फोहोरमैला व्यवस्थापन, उद्योग, शिक्षा, स्वास्थ्य लगायत १९ वटा परियोजनामा २ अर्ब बढी लगानी भित्र्याउने लक्ष्य रहेको बताए।

तय गरिएका परियोजनामा तिलोत्तमा कृषि उपज संकलन तथा प्रशोधन केन्द्र, ढाक्रेबास पर्यटकीय स्थल, तिलोत्तमा मासु प्रशोधन केन्द्र, सिटी कलेज, प्रादेशिक बसपार्क, तिलोत्तमा औद्योगिक क्षेत्र, चीन र भारतलाई समेत व्यापारमा जोड्ने गरी बिजनेश हव, रेल वे रिङरोड जस्ता परियोजना छन्।

त्यस्तै नगरका ३ स्थानमा स्मार्ट हाटबजार, स्मार्ट पार्किङ स्थल, बाल उद्यान, रोहिणी एकीकृत बहुउद्देश्यीय पर्यटकीय स्थल, तिलोत्तमा मिनी नेपाल, महिला तथा बाल अस्पताल र एकीकृत दुध संकलन तथा प्रशोधन केन्द्र रहेका छन्।

कुल क्षेत्रफलको ७२ दशमलव ०१ प्रतिशत कृषि र ११ दशमलव ३५ प्रतिशत वन तथा चरन क्षेत्र रहेको तिलोत्तमा कृषि उत्पादन र पशुपालनको हिसाबले अत्यन्त सम्भावना बोकेको क्षेत्र मानिन्छ।

हाल वार्षिक करिव ४० लाख लिटर दुध उत्पादन हुदै आएकोमा त्यसैलाई सदुपयोग गरी लगानी सम्मेलनबाट चकलेट, क्रिम सम्मको उत्पादन गर्ने लक्ष्य रहेको नगर प्रमुख घिमिरेले बताए।

यो वर्षलाई आधार वर्ष मानेर लगानी सम्मेलनमा सम्झौता गर्ने उद्योगलाई ५ देखि १० वर्ष सम्म निश्चित कर छुट दिईने छ। उनले विदेशी लगानीकर्ता मात्र नभई स्वदेशी ठूला लगानीकर्तालाई तिलोत्तमा भित्र्याउने लगानी सम्मेलनको प्रमुख उद्देश्य रहेको बताए।

‘नेपालमा लगानीकर्ताहरु प्रयाप्त छन्, लगानीको अवसर र सुरक्षा खोजिरहेका छन्, तिलोत्तमा नगरपालिका लगानीको अवसर दिन प्रतिवद्ध छ’ उनले भने।

लगानी सम्मेलनमा दुई सय राष्ट्रियसहित भारत, चीन र बंगलादेशका गरी ५० बढी विदेशी लगानीकर्ता सहभागी गराउने नगरपालिकाले दावी गरेको छ। नगरपालिकाले सरकार, स्वदेशी तथा विदेशी निजी क्षेत्रबीच नेटवर्किङ स्थापित गर्ने तथा सहकारिता, सहकार्य र सहअस्तित्वको अभियानको रुपमा समेत लगानी सम्मेलनलाई लिइएको छ।

त्यस्तै लगानीका सम्भाव्य योजनाहरुको प्रतिफल के हुने, प्रशासनिक तथा कानुनी बाटो के हुने, लगानी सम्बन्धि स्थानीय सरकारको दृष्टिकोण लगायतका विषयमा समेत सम्मेलनको अवसरमा छलफल गरिने नगरप्रमुख घिमिरेले जानकारी दिए।

आगामी माघ फागुनमै प्रदेश ५ सरकारले समेत लगानी सम्मेलन गर्न गईरहेको अवस्थामा तिलोत्तमा नगरपालिकाले गर्ने लगानी सम्मेलनलाई प्रदेश सरकारले समेत परिक्षणको रुपमा लिएको उनले बताए।

‘हामीले गर्ने लगानी सम्मेलनको सफलता र असफलता हामीसँग मात्र जोडिएको छैन, यो जिल्ला र प्रदेशसँग पनि जोडिएकोले यसलाई सफल बनाउने कुराप्रति हामी सजग छौं’ उनले भने। नगरपालिकाले लगानी सम्मेलनको लागि २० लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*