आज बकर इद मनाइँदै, प्रदेश २ र ५ मा सार्वजनिक बिदा

खबरपथ संवाददाता
२७ श्रावण २०७६, सोमबार ०८:११

मुस्लिम धर्माबलम्बीले आफ्नो चाड बकर इद आज मनाउँदै छन् ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।

हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए ।

आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । त्यसैले बिहानैदेखि देशभरका मस्जिदमा भीड लागेको छ ।

नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बली दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ ।

बकर इदका अवसरमा संघीय सरकारले ०७४ सम्म सार्वजनिक छुट्टी दिँदै आए पनि २ वर्षदेखि कटौती भएको छ । यद्यपि, प्रदेश २ र ५ ले प्रदेशस्तरीय निर्णय गरेर आज सार्वजनिक बिदा दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*