बुटवल उपमहानगरमा एक वडा एक प्राविधिक

उपमहानगरले लगत स्टीमेट नेपालीमा बनाउँदै
खबरपथ संवाददाता
४ भाद्र २०७६, बुधबार २२:०५

बुटवल । ठेक्कापट्टाका कामहरु समयमै सम्पन्न नहुने र त्यसका प्राविधिक भाषाहरुसमेत झन्झटिलो हुने समस्या छ ।

निर्माण कम्पनी तथा ठेकेदारले तयार पारेका विवरणहरु प्रायः सबैले नबुझ्ने खालका हुने गरेको गुनासा पनि उत्तिकै छन् ।

अब बुटवल उपमहानगरपालिकाले यस्ता विकास निर्माणका कामहरुको लगत स्टीमेट तयार पार्ने विधि, पद्दति र भाषाका बारेमा नौलो कामको थालनी गरेको छ । नगरका १९ वटै वडाहरुमा लागु हुने गरी लगत स्टीमेट अब नेपाली भाषामा गरिने भएको छ ।

उपभोक्ता समितिहरुमार्फत निर्माण गरिने कामहरुलाई अझ प्रभावकारी, गुणस्तरी र टिकाउ बनाउने भन्दै बुटवल उपमहानगरपालिकाले प्रदेशमै पहिलो पटक यस्तो कामको थालनी गरेको हो ।

लगत स्टीमेट तयार नभएसम्म सम्झौता नहुने भएकोले लगत स्टीमेट बनाउँदा नै सबैले बुझ्ने भाषमा सहज तरिकाले बनाउन निर्देशन दिइएको बुटवल उप–महानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।  सार्वजनिक निर्माणका विकासे कामहरूको गुणस्तरीयता बढाउने र त्यसको निगरानीका लागि उपभोक्ताहरुलाई समेत सजग बनाउने गरी अभियान सञ्चालन गरिएको कावा प्रमुखसमेत रहेका प्रवक्ता रेग्मीको भनाइ छ ।

जनताले कर तिरेको पैसाबाट निर्माण हुने कामहरू गुणस्तरीय नहुँदा त्यसको मार पनि जनतामै पर्ने भएकाले जनताको प्रत्यक्ष निगरानी र दक्ष प्राविधिक उत्कृष्ट डिजाइनका आधारमा मात्रै कामहरु अगाडि बढाइने छ’ प्रवक्ता रेग्मीले भने, ‘बुटवलले अब जनसहभागिताका र अरु सबैखाले कामहरुलाई गुणस्तरीय बनाउनेगरी अभियान सुरु गरेको छ ।’

समयमा काम सम्पन्न भए नभएको विषयमा सोधखोज गर्ने र जिम्मेवारी महसुस गर्ने बनाउन समेत यसखालको अभियानले काम गर्ने उपमहानगरको विश्वास छ । उपभोक्ताहरुलाई नै कामको निगरानी गर्न र खबरदारी गर्न लगाउँदा जुनसुकै पक्षबाट हुनसक्ने लापरवाहीहरूको रेखदेखसमेत हुने अपेक्षाका साथ अभियान सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।

उनले बुटवल १९ वटै वडाहरुमा उपभोक्ता समितिमार्फत सञ्चालन हुने विभिन्न निर्माणका कामहरुलाई अझ गुणस्तरीय बनाउने र त्यसमा नागरिकको नियमित निगरानीसमेत जुटाउने गरी काम सुरु गर्न लागिएको बताए । निर्माणका काम गर्दा धेरै अल्झिएको नियम कानुनको साटो सरल, व्यावहारिक तथा काम राम्रो र समयमा हुन सक्ने प्रावधान ल्याउँदा जनतामा एक प्रकारको उत्साह जाग्ने विश्वास गरिएको शर्माको भनाइ छ ।

बुटवल उपमहानगरले गत आर्थिक वर्ष २०७५/०७६ मा उपभोक्ता समितिहरुमार्फत छ सय ९३ वटा योजना सञ्चालन गरेको थियो । यीमध्ये पाँच सय ३४ योजनाहरु सम्पन्न भएका छन् ।  ती योजनाहरुका लागि ७८ करोड ९७ लाख २८ हजार दुई सय पाँच रुपैयाँ बराबरको लगत स्टीमेट निकालिइएको थियो । समयमै काम सम्पन्न गर्ने उपभोक्ता समितिहरुलाई बुटवलले हरेक वर्ष सम्मान समेत गर्दै आएको योजना अनुगमन तथा सुपेरिवेक्षण महाशाखा प्रमुख शिव नारायण शाहले जानकारी दिए ।

उपभोक्ता समितिहरुले गरेका कामको प्राविधिकसहितको टोलीले अनुगमन गर्ने र त्यसका आधारमा प्रक्रियामा हालेर रकम भुक्तानी दिने पद्दती रहेको शाहले बताए ।

एक वडा एक प्राविधिक

बुटवल उपमहानगरपालिकाले एक वडा एक प्राविधिक र तीन वडा एक इन्जिनियर खटाउने कामको समेत सुरुआत गरेको छ । यस्ता प्राविधिक र इन्जिनियरहरुलाई उपमहानगरमा विशेष तालिमसमेत दिएको छ ।

उपमहानगरका १९ वटै वडाहरुमा खटिने प्राविधिक र इन्जिनियरहरुलाई प्रशिक्षण दिइएको उपमहानगरका वरिष्ठ इन्जिनियर तथा शहरी पूर्वाधार विकास महाशाखाका प्रमुख सुमन श्रेष्ठले बताए । तालिममा नयाँ ३० जना र पहिलेदेखि कार्यरत प्राविधिक तथा इन्जिनियरहरुको सहभागिता छ ।

महाशाखा प्रमुख इन्जिनियर श्रेष्ठका अनुसार यसरी प्रशिक्षण लिएका प्राविधिकहरुले लगत स्टीमेटदेखि वडातहमा सञ्चालन हुने योजनालाई टिकाउ, गुणस्तरीय बनाउने नयाँ नयाँ उपायहरु खोजी गर्दै लागु गर्ने छन् ।

प्राविधिकले तयार पारेको काममा मातहतका विषय विज्ञ र इन्जिनियरले थप अध्यय्न गरेपछि मात्रै निर्माणको चरणका प्रक्रियाहरु अगाडि बढाउने गरी अभियान सुरु भएको अर्का इन्जिनियर गौतम रौनियारले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*