संघीयता असफल बनाउन षड्यन्त्र : मुख्यमन्त्री पोख्रेल

खबरपथ संवाददाता
७ आश्विन २०७६, मंगलवार १९:१६

दाङ — प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले संघीयता असफल बनाउन विभिन्न षड्यन्त्र भइरहेको बताएका छन् । संघीयता खर्चिलो भएको, सरकारले काम नगरेको जस्ता भ्रम फैलाएर जनतामाझ नकारात्मक भावना फैलाउने काम भइरहेको उनले बताए ।

‘केही पनि विकासका काम नभएको हल्ला फैलाइएको छ । यसमा कुनै पनि सत्यता छैन । संघीयता असफल बनाउन सुनियोजित रुपमा यस्ता काम भएका छन्,’ मुख्यमन्त्री पोख्रेलले भने,‘यस्ता कुराको पछि नलागी बास्तविक अवस्था बुझ्न आवश्यक छ ।  संघीयताले जनतालाई धेरै सुविधा दिएको छ ।’ स्थानीय सरकारमार्फत् अहिले अधिकांश सेवा घर नजिकै प्राप्त भएको उनले बताए ।

‘स्थानीय सरकारले धेरै कामहरु गरेका छन् । जनताले नजिकै सरकारी सेवा पाएका छन्,’ उनले भने,‘पहिले राजधानी र जिल्ला सदरमुकाम पुगेर गर्नुपर्ने काम अहिले गाउँमै भइरहेका छन् । यी संघीयताका उपलब्धी हुन् ।’प्रदेश सरकारले ४ महिनामा २ सय किलोमिटर सडक कालोपत्रे गरेको उनले बताए ।

‘यही तरिकाले प्रत्येक प्रदेश र स्थानीय तहमा काम भएका छन् । केही भएन भनेर हल्ला फिँजाएर हुन्छ,’ उनले भने,‘विकास भएन भनेर विरोध मात्रै गर्ने तरिका ठिक भएन । राम्रा काममा सहयोग गर्ने परिपाटी विकास हुनुपर्‍यो ।’ विपक्षी दल र अन्य संघीयता विरोधीहरु योजनाबद्धरुपमा सरकारको आलोचनामा उत्रने गरेको उनले गुनासो गरे ।

हेभी इक्युप्मेन्ट अपरेटर संघको पहिलो प्रदेश भेलालाई मंगलबार तुलसीपुरमा सम्बोधन गर्दै पोख्रेलले हेभी इक्युप्मेन्टलाई जथाभावी सार्वजनिक सडकमा दौडाउन नहुने बताए ।सार्वजनिक सडकमा हेभी इक्युप्मेन्ट दौडाउँदा सडकमा क्षति पुग्ने भएकाले काम हुने क्षेत्रमा मात्रै सावधानीपूर्वक प्रयोग गर्नुपर्ने उनले बताए । निर्माणका काममा ठूला गाडीहरु जथाभावी प्रयोग गर्दा प्राकृतिक विपत्ती आउने गरेको उल्लेख गर्दै उनले यसतर्फ सचेत हुन चालकहरुलाई आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*