तिलोत्तमामा १५ अर्ब लगानी भित्रिने

खबरपथ संवाददाता
१० आश्विन २०७६, शुक्रबार १०:३०

रुपन्देही  । रूपन्देहीको तिलोत्तमामा १५ अर्ब रुपैयाँको लगानी भित्रिने भएको छ । तिलोत्तमाले आयोजना गरेको लगानी सम्मेलनमा दुईवटा परियोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ भने दशवटा परियोजनाको आशयपत्रमा हस्ताक्षर भएको हो ।

स्थानीय तहले पहिलोपटक आयोजना गरेको लगानी सम्मेलनमा
एमओयू भएका दुई परियोजनामा यूके एड र तिलोत्तमा नगरपालिकाको सहकार्यमा सीप र रोजगार प्रवद्र्धन कोष स्थापना तथा नेपाल बैंक लिमिटेडको सहुलियत कर्जा परियोजना रहेका छन् । सम्मेलनमा नगरपालिकाले २२ वटा र नीजि क्षेत्रले ३१ वटा परियोजना प्रस्ताव गरेका थिए । तीमध्ये सम्मेलनमा २४ वटा परियोजनाको आशयपत्र मात्र खोलिएको थियो ।

प्रारम्भिक लगानी समझदारी भएका परियोजनाहरुमा रिडी हाइड्रो पावर, अन्नपूर्ण एग्रो, स्मार्ट एएसी नेपाल, उत्तम एग्रो प्रोडक्सन, सन आउटडोर प्रालि.,तिलोत्तमा रिङरोडमा रेलवे, तिलोत्तमा–११ गणेशनगरमा ढाक्रेबास एकीकृत पर्यटकीय आयोजना, वडा नं. ६ मा दुग्ध प्रशोधन केन्द्र, वडा नंं १४ मा मिनी नेपाल, एकीकृत कृषि उपज संकलन तथा प्रशोधन केन्द्र (कोल्ड स्टोरसहित) रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

पहिलो प्रयासमै निजी क्षेत्रबाट आएको लगानी प्रतिबद्धताले आफूहरु निकै उत्साहित भएको नगर प्रमुख वासुदेव घिमिरेले बताउँनुभयो । ‘तिलोत्तमा लगानीका लागि उपयुक्त थलो रहेछ भन्ने लगानीकर्तामा छाप छाड्न सफल भएको उँहाले बताउँनुभयो ।

प्रति कठ्ठा पाँच हजार भाडा दरमा चाहेजति जग्गा ३०–४० वर्षसम्म लिजमा दिने र रोजगारीका आधारमा करमा सत प्रतिशतसम्म छुटको योजनाबाट लगानीकर्ताहरु आकर्षित भएको घिमिरेले बताउँनुभयो ।

लगानी सम्मेलनबाट ५० अर्ब लगानी भित्रिने आयोजकको अपेक्षा थियो । सम्मेलनमा चीन, भारतबाट समेत लगानीकर्ताहरु आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*