साना तथा मझौला ढुवानी व्यवसाय संकटमा

हरिश ढकाल
१४ आश्विन २०७६, मंगलवार ११:०१

बुटवल। सरकारको पक्षपाती नितिका कारण साना तथा मझौला ढुवानी व्यवसाय संकटमा परेको गुनासो सरोकारवालाहरुले गरेका छन । साना तथा मझौला ढुवानी व्यवसायीले ठुला सरह नै चर्को कर कम्पनी दर्ता शुल्क, जांचपास र रुट परमिटका कारण व्यवसाय संकटमा परेको बताएका हुन् ।
सरकारी गलत रबैयाका कारण सानो लगानीमा स्वरोजगारका रुपमा चलाउंदै आएका साना ढुवानी व्यवसायी आफ्नो पेशाबाट पलाएन हुने अवस्था आएको उनीहरुको गुनासो छ । लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघ बुटवलको सोमबार सम्पन्न छैठौं वार्षिक साधारणसभामा बोल्ने ढुवानी व्यवसायीले सरकारको गलत निर्णयका कारण बैंकको व्याज तिर्न नसक्ने अवस्था आएको बताए । यातायातसंग सम्बन्धित नीति नियम बनाउंदा साना तथा मझौला ढुवानी व्यवसायीका प्रतिनिधिको सहभागिता गराउन सरकारसंग माग गरे । पांच नम्बर प्रदेशको अस्थायी राजधानी बुटवल लगायत विभिन्न जिल्लामा पार्किङको समस्या रहेकोे उनिहरुले ताए ।
कार्यक्रममा बोल्दै प्रदेश नम्बर पांचका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले पुराना कानुनहरु असफल भएको र नयां कानुनहरु बन्ने क्रममा रहेकाले यातायात लगायतका अन्य क्षेत्रका समस्यालाई समाधान गर्न समय लाग्ने बताए । प्रदेश सरकारको यातायात सम्बन्धी ऐन निर्माणको क्रममा रहेको बताउंदै मन्त्री केसीले नयां नियम कानुन बनाएर सबै क्षेत्रको उचित व्यवस्थापन गरिने बताए । प्रदेश पांचमा सबै भन्दा ठूलो समस्याको रुपमा रहेको सवारी दुर्घटना न्यूनिकरण प्रमुख चुनौतीका रुपमा रहेको उल्लेख गर्दै अब दुर्घटना घटाउने गरी सिसिटिभीबाट मनिटरिङ गरिने प्रतिवद्वता मन्त्री केसीले जनाए । राष्ट्रलाई बलियो बनाउन आन्तरिक पारवहन नीति बनाउन आवश्यक रहेको मन्त्री केसीको भनाइ थियो ।
यातायात व्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले यातायात व्यवसायीका समस्यालाई महत्व दिन सरकारसंग माग गरे । ओभरलोड भारतीय गाडिहरु नेपालमा निर्वाध रुपमा आउंदा नेपाली यातायात व्यवसायी विस्थापितको अवस्थामा पुगेकाले उचित व्यवस्थापन हुनुपर्ने बताए । पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले दुर्घटना न्यूनीकरणको नाममा ट्राफिक प्रहरीले राजश्व संकलन गर्ने गरेको बताउंदै राजश्व मात्र संकलन गरेर दुर्घटना न्यूनीकरण हुन नसक्ने बताए । कार्यक्रममा पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष यमप्रसाद पाण्डे, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, यातायात मजदुर तथा भलाई कोषका महासचिव योग गुरुङ, सुरक्षित यात्रा नेपालका कृष्ण बेलवासे, ट्रक ब्यबसायी विष्णु बेलवासे, संघका अध्यक्ष लक्ष्मण चौहान क्षेत्री महासचिव सुमन सापकोटा, सहसचिव कृष्ण चौहान साना तथा मझौला ढुवानीका समस्या र समाधानका उपाय बारे चर्चा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*