सरकारलाई असफल हुने छुट छैनः पौडेल

खबरपथ संवाददाता
१८ आश्विन २०७६, शनिबार ०९:५३

तिलोत्तमा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले अहिलेको सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् । नेकपा नेतृत्वको सरकार नै असफल भए मुलुकमा संवैधानिक संकट आउने र व्यवस्था नै असफल हुने उनले दावी गरे ।
नेकपा तिलोत्तमा नगर कमिटीले विजयादशमी, शुभदीपावली र छठ पर्वको अवसरमा शुक्रबार मणिग्राममा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा महासचिव पौडेलले यस्तो बताएका हुन् । “यो सरकारलाई असफल हुने छुट छैन, यो असफल भए राष्ट्रकै जीवनमा एकसाथ अनेक संकट आउँछन्, संविधान र राजनीतिक दल पनि रहने कि नरहने भन्ने प्रश्न सिर्जना हुनेछन्”–उनले भने ।
सरकारका अहिलेसम्मका काम कारवाही उत्साहजनक र सफलतातर्फ उन्मुख रहेको उनले बताए । स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले आवधिक समीक्षा गरिरहेको र आगामी दिनमा सरकारलाई अझै प्रभावकारी ढंगले परिचालित गर्ने योजना पार्टीले बताएको पनि महासचिव पौडेलको भनाइ छ ।
कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलताले केही चुनौती र जिम्मेवारी पनि थपिएको भन्दै उनले सरकारले केही पनि गर्न सकेन भनेर गरिएको आलोचनाको कुनै अर्थ नरहने बताए ।
महासचिव पौडेलले बुटवल, तिलोत्तमा र सिद्धार्थनगरलाई मेगासिटीको रुपमा विकास गरिने उल्लेख गर्दै यस क्षेत्रमा सञ्चालित विकासका ठूला आयोजनाहरु सम्पन्न भएपछि आमूल परिवर्तन आउने बताए । “प्रदेशस्तरीय मेडिकल कलेज, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सिद्धबाबा सुरुङ मार्ग, कालीगण्डकी तिनाउ डाईभर्सन जस्ता ठूला आयोजनाहरुले यस क्षेत्रको मुहारमा ठूलो परिवर्तन ल्याउँछ”–पौडेलले भने ।
कार्यक्रममा बोल्दै नेकपा स्थायी समिति सदस्य छविलाल विश्वकर्माले सरकारले गरेका राम्रा कामहरुलाई जनतामाझ लैजान र गलत भएको भए खवरदारी गर्न कार्यकर्तालाई आग्रह गरे । नेकपाले प्राप्त गरेको सफलताबाट अत्तालिएकाहरुले सरकारका विरुद्ध भ्रम फैलाउने कोशिष गरिरहेको उनले बताए ।
नेकपा तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंले पार्टी एकीकरणपछि कार्यकर्ता पंक्तिमा उत्साह थपिएको उल्लेख गर्दै स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले गरेका काम कारवाहीलाई जनतामाझ लैजाने पुलको रुपमा स्थानीय कमिटीले काम गर्नुपर्नेमा जोड दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*