मुख्यमन्त्री पोखरेलद्वारा आधुनिक बसपार्क र नगर बसको उद्घघाटन

खबरपथ संवाददाता
१८ आश्विन २०७६, शनिबार १९:२१

नेपालगञ्ज । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपालगञ्जले गरिरहेको विकासको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

आज नेपालगञ्जको आधुनिक बसपार्क र नगर बसको उद्घघाटन गर्दै मुख्यमन्त्री पोखरेलले जनप्रतिनिधि आइसकेपछि नेपालगञ्जले पकडेको विकासको लयदेखि आफू खुसी भएको बताए ।

‘केही भएको छैन भन्ने मनोगत व्याख्या नगरौं, नेपालगञ्जको विकास निकै दु्रत गतिमा भइरहेको छ, दुई बर्ष अघिको नेपालगञ्ज र अहिलेको नेपालगञ्जमा निकै फरक भइसकेको छ,’ उनले भने ,।

‘निराशाबादी नबनौं मुलुकका अन्य स्थानीय सरकार भन्दा नेपालगञ्जको विकासको गति राम्रो छ, आशाबादी बनेर अघि बढौं ।’ उनले नेपालगञ्ज ऐतिहासिक सहर भएको स्मरण गर्दै भने, ‘नेपालगञ्ज यस्तो ठाउँ हो जहाँ सरकारी कार्यालयले सहर बनाएको होइन, सहरले कार्यालय ल्याएको हो ।

मुख्यमन्त्री पोखरेलले नयाँ उद्योग स्थापनाको हिसाबले नेपालगञ्ज कोहलपुर औद्योगिक करिडोर मुलुकमै सबैभन्दा तीब्र गतिमा उद्योगहरु स्थापना भइरहेको करिडोर भएको बताए ।

उनले राजधानीले मात्रै सबै कुरा हुन्छ भन्ने सोचाई नराख्न आग्रह गर्दै भने, ‘प्रदेश ५ का विभिन्न सहरहरुलाई दिल्ली, कोलकाता र मुम्बई बनाउन सकिन्छ, विकास कुनै एक ठाउँमा मात्रै हुँदैन, सबै क्षेत्रको विभिन्न किसिमले विकास गर्न सकिन्छ ।’

उनले प्रदेश ५ का पालिकाहरु मुलुकका अन्य प्रदेशका पालिका भन्दा बजेट खर्च गर्ने क्षमतामा अगाडि देखिएको बताउँदै भने, ‘केन्द्र र प्रदेशले बजेट खन्याइदिएर मात्र हुँदैन, आएको बजेटको खर्च गर्न सक्नुपर्दछ, जुन मामिलामा नेपालगञ्ज निकै अगाडि देखिएको छ ।’

‘धवलजीको नेतृत्वमा जसरी नेपालगञ्ज पल पल बदलीरहेको छ, मुलुक पनि त्यसरी नै बदलिन्छ,’ मुख्यमन्त्री पोखरेलले भने ।

उनले व्यवस्थित सहरी यातायात प्रणालीको विकासका लागि नेपालगञ्ज उपमहानगरपालिकाले नगर बस सेवा प्रारम्भ गरेर उदाहरणीय काम गरेको बताउँदै नगर बस सञ्चालन महानगरको भावना जागृत गर्ने सन्देश भएको उल्लेख गरे ।

उनले यो आयोजनाका लागि प्रदेश सरकारले ‘टोकन सहयोग’ गर्ने घोषणा समेत गरे । उनले खजुरा कोहलपुरलाई पनि वैकल्पिक औद्योगिक करिडोरको रुपमा विकास गर्ने सोच प्रदेश सरकारको रहेको बताए ।

मेयर धवल शमशेर राणाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रदेश सांसद् आइपी खरेल, खजुरा गाउँपालिकाकी कार्यबहाक अध्यक्ष एकमाया विक, राप्रपाका बाँके जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव डेकनाथ गौतमले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

उपमेयर उमा थापा मगरले स्वागत मन्तब्य ब्यक्त गर्दै ४ विगाहा १० कट्ठामा फैलिएको नेपालगञ्जको आधुनिक बसपार्क १६ करोड १६ लाखमा निर्माण सम्पन्न भएको जानकारी दिइन् ।

युनाइटेड विल्डर्सले निर्माण गरेको बसपार्कमा १ सय २३ वटा ठूला बस र ५६ वटा साना हाइस बस अट्न सक्ने क्षमता छ । ६६ वटा व्यापारिक सटर रहेको बसपार्कमा स्तनपान कक्ष, प्राथमिक उपचार कक्ष, पोष्टल रुम, प्रहरी सहायता कक्ष, कन्ट्रोल रुम, १६ वटा काउण्टर र कार्यालय कक्ष समेत रहेको उपमेयर थापाले जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*