यौन दुर्व्यवहार आरोपमा महरा पक्राउ

खबरपथ संवाददाता
१९ आश्विन २०७६, आईतवार १९:४१

काठमाडौं । आफ्नै सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार जिल्ला अदालत काठमाडौंबाट महरालाई पक्रन पक्राउ पुर्जी लिएसँगै प्रहरीले महरालाई उनकै निवास बालुवाटारबाट पक्राउ गरेको हो ।   उनलाई बा १८ च ४०० नम्बरको निजी रातो कारमा राखेर प्रहरीले लगेको छ।  प्रहरी वृत्त बानेश्वरका डिएसपी दुर्गाराज रेग्मी सहितको टोलीले उनलाई पक्राउ गरेको हो।

गाडी यस्तो स्पिडमा हुँकियो कि पत्रकारकाहरूलाई फोटो खिच्नै हम्मे परेको थियो। महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोली महरालाई पक्राउ गर्न उनको निवास पुगेको थियो।

महरालाई पक्राउ गर्न अघि प्रहरीले आजै सरकारी वकिलसँग राय लिएको थियो। सरकारी वकिलले महरालाई नियन्त्रणमा लिएर बयान सुरू गर्न सुझाव दिएका थिए। महरालाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गर्न प्रहरीले अदालतमा अनुमति मागेको थियो।

पक्राउ परेका महरालाई अब प्रहरीले आफ्नो हिरासतमा राखेर लागेका आरोपका सम्बन्धमा थप अनुसन्धान गर्नेछ ।

बलात्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले शुक्रबार निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्।

उजुरीमा उनले आफूलाई महराले बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा दिएको उजुरीमा उल्लेख गरेकी थिइन्।

शाहीको उजुरी पछि प्रहरी आइतबार अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्रने तयारीमा रहेको बताएको थियो।

असोज १२ गते आइतबार महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए। त्यो रातको घटनाको भोलिपल्ट शाहीले मिडियालाई महराले आफूलाई बलात्कार र हातपात गरेको बताएकी थिइन्।

भोलिपल्ट उनको अनुहार र जिउमा चोटपटक देखिएको थियो। प्रहरी उच्च स्रोतका अनुसार सो घटना भएको राति प्रहरी उनको डेरामा पुगेपछि पनि उनले महराले आफूलाई बलात्कार गर्ने प्रयास गरेको र शारीरिक हिंसा गरेको बताएकी थिइन्।

शाहीको मध्य रातको त्यो बयान पनि प्रहरीले रेकर्ड गरेर राखेको थियो। घटना भएको पर्सी पल्ट असोज १४ गते प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएका रक्सीको बोतल, घम्साघम्सीमा भाँचिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्किँदा छुटेको जुत्ताको तलुवालगायत सामान प्रहरीले बरामद गरेको थियो।

जाँचका लागि ती सामान प्रहरीको फरेन्सिक ल्याबमा पठाइसकेको छ। त्रिवि शिक्षण अस्पतालमा शुक्रबार नै रोशनीको स्वास्थ्य परीक्षण गरिसकिएको छ।

सेतोपाटीबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*