चीनका राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति भण्डारीले स्वागत गर्ने

प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूसँग भेट विमानस्थलमै
खबरपथ संवाददाता
२५ आश्विन २०७६, शनिबार ०८:५४

काठमाडौँ — नेपालको राजकीय भ्रमणमा आउन लागेका चीनका राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो स्वागत गर्ने भएकी छन् । राष्ट्रपति भण्डारीले पहिलो औपचारिक स्वागत गरे पनि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूसँग चिनियाँ राष्ट्रपतिको भेट विमानस्थलमै हुनेछ ।

राष्ट्रपति सी उत्रेलगत्तै राष्ट्रपति भण्डारीले स्वागत गर्ने र त्यसपछि सीको सम्मानमा नेपाली सेनाबाट सम्मानगारत ९गार्ड अफ अनर० अर्पण गर्ने कार्यक्रम छ । गार्ड अफ अनरमा दुवै मुलुकका राष्ट्रपति हुन्छन् । त्यसपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसहितको परिचय गराउनेछिन् । परिचय गराउने कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका अधिकारीहरू विमानस्थलमा उपस्थित हुनेछन् । ‘गार्ड अफ अनरको स्थान यसपटक एयरपोर्टमै तोकिएको छ । त्यसैले परिचयात्मक कार्यक्रम त्यहीं हुनेछ, त्यहाँ प्रधानमन्त्री पनि हुनहुनेछ,’ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले भने ।

तीन वर्षअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले एयरपोर्टमै स्वागत गरेकी थिइन् । उपराष्ट्रपति नन्दबहादुर पुन र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका अधिकारीहरू विमानस्थलमै पुगेका थिए । कुनै मुलुकले आफूले बोलाएका पाहुनालाई स्वागत कसरी गर्ने भन्ने सम्बन्धित मुलुकले तय गर्छन् । स्वागतमा कुन स्तरका अधिकारी उपस्थित हुने भन्ने एकरूपता छैन । त्यसैले आवश्यकताअनुसार जोसुकै अधिकारी पुग्न सक्छन् । तर विशेष स्वागत र सम्मानको सन्देश दिन उपल्लो तहका अधिकारीहरू विमानस्थल पुग्ने चलन छ ।

राष्ट्रपति सीको भ्रमणलाई पनि विशेष स्वागत र सम्मानको सन्देश दिन विमानस्थलमै गार्ड अफ अनरको कार्यक्रम राखेर त्यहीं कार्यकारी प्रधानमन्त्रीसहितको उपस्थिति हुन लागेको हो । सन् १९७८ मा तत्कालीन चिनियाँ उपप्रधानमन्त्री देङ सियाओपिङको नेपाल भ्रमणका बेला तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले स्वागत गरेका थिए ।

ई कान्तिपुरबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*