नेताहरुको प्रतिक्रिया : चिनियाँ राष्ट्रपतिको भ्रमण सफल

कांग्रेसको चियापान व्यवस्थित रुपमा सम्पन्न
खबरपथ संवाददाता
२६ आश्विन २०७६, आईतवार १८:२८

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले कोजाग्रत पुर्णिमाका अवसरमा आइतबार आयोजना गरेको चियापान कार्यक्रममा नेताहरुले यस्तो प्रतिक्रिया दिएका हुन्। नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले भने भ्रमणका बारेमा प्रतिक्रिया दिएनन्। उनले राष्ट्रिय मुद्दाहरुमा सत्तापक्ष र प्रतिपक्ष एकैठाउँमा रहेको बताए।

कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य रामशरण महतसहितका नेताहरुसंग आफ्नो ४५ वर्षदेखिको सम्बन्ध रहेको बताउँदै ओलीले लोकतन्त्रको मूल्य मान्यतामा सवालमा कांग्रेससंग गहिरो समझदारी रहेको बताए।
‘कांग्रेस र हाम्रो बीचमा अहिले सौहार्दपूर्ण सम्बन्ध छ। राजनीतिक रुपमा मतभेद भएपनि यस्ता शुभकामनाको संस्कृतिले सम्बन्ध जोड्छ’ प्रधानमन्त्री ओलीले थपे। उनले प्रधानमन्त्री ओलीले संचारकर्मीको अन्य प्रश्नको जवाफ भने दिन चाहेनन्।

ओलीपछि बोलेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले भने राजनीतिमा असम्भव भन्ने चिज नभएको भन्दै भविष्यमा राजनीतिले कोल्टे फेर्न सक्ने संकेत गरेका थिए। चियापानमा प्रवेश हुनसाथै कांग्रेसमा उत्साह र मनोबल उच्च रहेको अनुभव आफूलाई मिलेको प्रसंग जोड्दै दाहालले भने,‘हेर्दे जाऔं राजनीतिले कसरी कोल्ट फेर्छ।’

उनले दिवंगत नेता गिरजाप्रसाद कोइरालासंगको १२ बुँदे सम्झौतादेखि शान्ति सम्झौता र त्यसयता संविधान जारी गर्नेदेखि सरकार सञ्चालनसम्मको सहकार्यको व्याख्या गर्दै राजनीतिले फेरीपनि कोल्टे फेर्न सक्ने संकेत गरेका हुन्। ‘कांग्रेसको बीचमा आउँदा सहयात्रीहरुकै बीचमा आएजस्तो महशुस गर्छु’ दाहालले भने।

कांग्रेस सभापति देउवाले चिनियाँ राष्ट्रपतिको भ्रमणलाई आफ्नो पार्टीले हार्दिकताका साथ स्वागत गरेको बताए। कांग्रेस एक चीन नीतिप्रति प्रतिबद्ध रहदै आएको र रहने बताउँदै आफूले राष्ट्रपति सिसंगको भेटमा पनि यही कुरा दोर्‍याएको बताए।

२३ वर्षअघि आफू प्रधानमन्त्री छँदा तत्कालीन चिनियाँ राष्ट्रपति चियाङ चमिनको नेपाल भ्रमणको प्रसंग जोड्दै देउवाले दोस्रो राष्ट्रपति सीको भ्रमणलाई पार्टीले दुई देशबीचको सम्बन्ध सुधार गर्ने र आर्थिक साझेदारी बढाउने उद्देश्यबाट हेरेको बताए।
पूर्व प्रधानमन्त्रीहरु बाबुराम भट्टराई, माधवकुमार नेपाल र झलनाथ खनालले पनि चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्धले नयाँ उचाई लिएको बताए। चीनले आर्थिक सहयोग कति गर्‍यो भन्ने कोणबाट मात्रै भ्रमणको मुल्याकंन गर्न नहुने भट्टराईले बताए।

अर्का प्रधानमन्त्री खनालले सीको भ्रमण ऐतिहासिक रहेको बताउँदै यसले दुई देशको सम्बन्धले नयाँ उचाइ लिएको बताए। नेपालले सीको भ्रमणपछि नेपालीको रेलको सपना पुरा हुने विश्वास जागेको बताए। ‘दुई देशबीचको सडक बाटोको स्तरोन्नति, बढी भन्दा बढी नाकाहरु खुला गर्ने प्रतिबद्धतासंगै नेपालीको रेलको सपना पनि अब पुरा हुनेछ’ नेपालले भने।

नेकपाकै अर्का नेता नारायणकाजी श्रेष्ठले पनि चीनसंगको आर्थिक साझेदारी बढाउने दिशामा सीको भ्रमण ऐतिहासिक रहेको बताए।

चियापान व्यवस्थित
कांग्रेसको यसपटकको चियापनलाई व्यवस्थित बनाएको थियो। यसअघि हुने अस्तव्यस्तताले आगुन्तक पाहुनाहरुलाई नेताहरु समक्ष पुग्न नै हम्मे हम्मे पर्दथ्यो। तर, यसपटक त्यस्तो सास्ती ब्यहोर्नु परेन। चियापानमा आउने नेता तथा विदेशी पाहुनाहरुलाई कांग्रेस नेताहरु स्वागतका लागि बसेको स्थानसम्म पुग्न सहज बनाइएको थियो।

त्यसका लागि कांग्रेसको भूपू सैनिक संघ र तरुण दलका कार्यकर्ताहरुले व्यवस्थित पार्ने काम गरेका थिए। चियापानमा नेवारी बाजा बजाएर आगुन्तकहरुको स्वागत गरिएको थियो।

नेकपाका नेता माधवकुमार नेपालले चियापान व्यवस्थित गराएको प्रशंसा व्यक्त गरेका थिए। उनले यसपटकको चियापानमा आफ्नो पार्टीले गर्ने कार्यक्रमकै सिको गरेको बताए। ‘राम्रो कामको सिको दुवै दलले एकअर्काबाट लिनुपर्छ’ उनले भने।

चियापानमा उपस्थित कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरुले जय नेपाल इतरदलका नेताहरुलाई आग्रह गरेका थिए। प्रधानमन्त्री ओली, नेपालसहितका नेताहरुले चर्को स्वरमा जय नेपाल भनेका थिए।

इकान्तिपुरबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*