पार्टी तदर्थवादबाट चल्न सक्दैन – डा. शेखर कोइराला

खबरपथ संवाददाता
१५ कार्तिक २०७६, शुक्रबार १९:५८

बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी अव तदर्थवादबाट चल्न नसक्ने बताउनु भएको छ । पार्टीका भातृ संगठनहरु तदर्थ समिति गठन गर्न लागिएको तर्फ संकेत गर्दै उहाँले पार्टीलाई उर्जा दिनकालागि पनि तदर्थवादको अन्त्य गर्नुपर्ने भनाई राख्नुभएको हो ।

नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन प्रदेश पाँचद्वारा शुक्रबार बुटवलमा आयोजना गरिएको ‘संबिधान प्राप्तीको यात्रामा नेपाली कांग्रेस’ बिषयक बिचार गोष्ठिमा बोल्दै कांग्रेस नेता कोइरालाले पार्टीबाट कोही नेता कार्यकर्तालाई अन्याय भएको छ भने अब त्यसो हुन नदिने दृढता समेत व्यक्त गर्नुभयो ।

आगामि तिन बर्षमा आम निर्वाचन हुने बताउदै उहाँले उक्त चुनाबमा पार्टीले स्पष्ट एजेण्डा लिएर जनतासँग जानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो–‘सरकारको गलत क्रियाकलापका कारण हामिले चुनाब त जितौला तर कांग्रेसले जनताका आबस्यकताका आधारमा आफ्ना एजेण्डा लिएर जनतामा जानुपर्छ ।’
बिचारको बिषयमा बहस गर्ने क्रममा गुट उपगुट हुन सक्ने भन्दै उहाँले पदको बाडफाडका लागि गुट उपगुट स्वीकार्य नहुने बताउनु भयो । मुलुक अति राष्ट्रवाद र उग्रराष्ट्रवादको चपेटामा परेको भन्दै नेता कोइरालाले गणतन्त्र र लोकतन्त्रमाथि खतरा छ भने त्यो बर्तमान सरकारबाटै रहेको दाबी गर्नुभयो ।

वाइड वडी प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन पर्यटनमन्त्री रबिन्द्र अधिकारी निर्दोष रहेको भनि अभिव्यक्ति दिएको स्मरण गर्दै भन्नुभयो–‘रबिन्द्र अधिकारी निर्दोष हुन् भने दोषि को हो ? प्रधानमन्त्रीले भन्नु प¥यो नि ।’ कुन कसुरमा को दोषि र को निर्दोष हो भन्ने निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै उहाँले प्रधानमन्त्री अख्तियारको प्रमुख र प्रधानन्यायधिस हुन नसक्ने बताउनु भयो ।

न्यायालय, अख्तियार र मानब अधिकार आयोगमा समेत सरकारको छाया परेको भन्दै उहाँले सुशिला कार्कीमाथिको महाभियोगमा कांग्रेस पनि चुकेको स्वीकार गर्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य देबेन्द्रराज कंडेलले सन् १९५० को सन्धीको प्राबधानमा टेकेर आफ्नो लगानीमा भारतमा विद्यालय सञ्चालन गरेको भन्दै विद्यालयको अध्यक्ष भएकै भरमा आफुलाई भारतीय नागरिक भएको भनि झुठो प्रचार गरिएको बताउनु भयो । उहाँले आफुमाथि लगाइएको अभियोग प्रमाणित गरेर देखाउन चुनौती समेत दिनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सबैले आ–आफ्नो जिम्मेवारी पुरा गरे आगामि निर्वाचनमा पार्टीले चुनाब जित्ने बताउदै एक अर्कालाई दोष दिएर संगठन बलियो नहुने बिचार व्यक्त गर्नुभयो ।
प्रदेश नं ५ का प्रदशसभा सदस्य तथा नेपाली कांग्रेस पाल्पाका सभापति बिर बहादुर रानाले मुलुकमा व्यवस्था परिवर्तन भएर नयाँ संरचनाहरु बन्दै गरेपनि पुरानो मानसिकता र शैलीमा परिवर्तन नहुदा परिवर्तनले सार्थकता पाउन नसकेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा संबैधानिक परिषदका पुर्व सदस्य तथा बरिष्ठ अधिबक्ता उपेन्द्रकेशरी न्यौपानेले केन्द्रले इग्नोर गर्ने र स्थानीय तहले नपत्याउने गरेका कारण प्रदेशको भूमिका संकटमा पर्न थालेको भन्दैै त्यस बिषयमा संघीय सरकारको दृष्टिकोण स्पष्ट हुनुपर्ने बिचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य रमा अर्याल, पुर्व संबिधानसभा सदस्य इस्तीयाक अहमद खाँ, पूर्व सांसद शंकर पाण्डे, नेपाल प्राध्यापक संघका केन्द्रिय अध्यक्ष बुद्धबहादुर थापा, डेमोक्रेटिक लयर्स एशोसिएशनका केन्द्रिय अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, नेपाल बार एशोसिएशनका केन्द्रिय उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ, बार एशोसियशनका महासचिब लिलामणि पौडेल, डेमोक्रेटिक लयर्स एशोसिएशनका केन्द्रिय महासचिब लक्ष्मीदेवी दाहाल, बरिष्ठ अधिवक्ता गोपालप्रसाद पाण्डे (अल्छी), नेपाली कांग्रेस रुपन्देहीका सचिब रामकृष्ण खाँण, क्षेत्रीय सभापति तथा देबदह नगरपालिका प्रमुख हिराबहादुर खत्री, नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे, नेपाल बार एशोसियशन उच्च अदालत बुटवल इकाई अध्यक्ष जोगबहादुर खत्री, डिएलए बुटवलका अध्यक्ष महेन्द्रप्रसाद पाण्डे, लिगल आई प्रदेश ५ का सम्पादक बाबुराम पाण्डे लगायतले बोल्दै दुई तिहाईको बर्तमान सरकारले संघीयता र लोकतन्त्रको मर्म र भावना बिपरित ऐन कानूनहरु बनाउन थालेको भन्दै त्यसको कांग्रेसले ससक्त बिरोध गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
डेमोक्र्याटिक लयर्स एशोसिएशन प्रदेश अध्यक्ष गोकर्ण सिं थापाको सभापतित्वमा सम्पन्न कार्यक्रम एशोसियशनका प्रदेश कोषाध्यक्ष राजन नेपालको स्वागत मन्तब्य र सचिब माधबप्रसाद घिमिरेको सञ्चालनमा भएको थियो । त्यसै अबसरमा नेपाल ओलम्पिक कमिटीमा निर्वाचित दिर्घबहादुर केसीलाई सम्मान समेत गरिएको थियो ।
त्यसैगरी नेपाली काँग्रेस बुटवल नगर समितिले पनि शुक्रबार नै नेता कोइरालासंग कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रम गरेको थियो । त्यस अवसरमा बोल्दै काँग्रेस नेता कोइरालाले पार्टीका भातृसंस्थाहरु निस्कृय बनाईँदा पार्टी चलाएमान हुन नसकेको बताउनु भएको थियो । त्यस अवसरमा नेता कार्यकताहरुको मन मिल्न नसक्दा गुट उपगुट हावी भएको भन्दै गुट उपगुटको अन्त्यकालागि शिर्ष नेताबाटै शुरु हुनु पर्ने कार्यकर्ताहरुले बताएका थिए ।
नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेको सभापतित्वमा भएका कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, क्षेत्रीय सभपति हरि लम्साल, नगर सचिव ज्योती भण्डारी लगायतले भनाई राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*