महराको बयान सकियो, आइतबारदेखि थुनछेक बहस

खबरपथ संवाददाता
१५ कार्तिक २०७६, शुक्रबार २०:४८

काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महराले अदालत समक्ष आफूमाथिको अभियोग अस्वीकार गरेका छन् । जिल्ला अदालत काठमाडौंमा बयान क्रममा उनले आफू नयाँ बानेश्वर २६ (परिवर्तित नाम)  को कोठामा नगएको र उनीमाथि बलात्कारको प्रयास नगरेको दाबी गरेका हुन् ।

जिल्ला अदालतका एक नम्बर न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा बयान दिँदै महराले आफू नयाँ बानेश्वर २६ को कोठा नजिकै गएको स्वीकारेको अदालत स्रोतले बतायो । कोठाबाहिर गए पनि उनले कोठाभित्र नपसेको र पीडितलाई पनि नभेटेको दाबी गरेका छन् । महरासँगको बयान शुक्रबार सकिएको छ ।

जिल्ला अदालत काठमाडौंका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारदेखि थुनछेक बहस सुरु हुने र त्यसपछि आदेश हुने बताए । थुनछेक आदेशले मुद्दाको किनारा नलागुन्जेल आरोपितलाई थुनामा राख्ने, धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा आदेश दिनेछ । जाहेरीदेखि बयान र प्रमाणको विश्लेषण गरी इजलासले आदेश दिनेछ ।

३ वर्षभन्दा बढी कैद मागदाबी गरिएको मुद्दामा अदालतले पुर्पक्ष थुनामा राख्ने आदेश दिन सक्छ । तर आरोपितविरुद्धको प्रमाण गम्भीर नभएमा अदालतले धरौटी वा साधारण तारेखमा समेत छाड्ने आदेश दिन सक्छ ।

निरन्तर सुनुवाइको निवेदन परेकाले थुनछेक आदेशलगत्तै मुद्दाको सुनुवाइ समेत हुन सक्नेछ । बलात्कार प्रयासको संवेदनशील आरोप लागेकाले मुद्दामा पीडित र साक्षीको संरक्षणका लागि बन्द इजलासमा सुनुवाइ भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*