विश्व शान्ति स्तूपमा पूजा

पर्यटन विकासबाटै समृद्धि : मन्त्री लम्साल
खबरपथ संवाददाता
२४ कार्तिक २०७६, आईतवार १४:३३

पोखरा। पुम्दीभुम्दीको अनदु डाँडास्थित विश्वशान्ति स्तूपको २० औं वार्षिक पूजा समारोह शनिवार सम्पन्न भयो।

समारोहको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल तथा थाई विहार प्रमुख सुपोतले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

यसैगरी शान्ति स्मारिका लोकार्पणका साथै दानदाता अक्षयकोषदाता तथा सहयोगीलाई सम्मान गरिएको थियो। त्यस अवसरमा प्रमुख अतिथि मन्त्री लम्सालले गण्डकी प्रदेश प्रकृति र संस्कृतिको खानी भएको उल्लेख गर्दै पर्यटन विकास गरेर नै यस प्रदेशलाई समृद्ध बनाउने सरकारको लक्ष्य रहेको बताए।

उनले आज संसारमा विश्वका धेरै मानिसहरुले शान्तिका लागि बुद्ध दर्शनलाई पच्छाई रहेको चर्चा गर्दै धार्मिक पर्यटन प्रवद्र्धनका लागि आवश्यक कार्यहरु अघि बढाई सकिएको बताए।

पोखरा आउने पर्यटकहरुलाई शान्ति स्तूपमा जाने मार्ग सहज बनाउन बजेट विनियोजन भइसकेको पनि उनले जानकारी दिए।

जापानी भिक्षु ताकासीमाले निचिदात्सु फुजि गुरुको अग्रसरतामा अनेक व्यवधान बीच पनि स्तूप निर्माण भएको उल्लेख गर्दै यसको प्रमुख उद्देश्य नै संसारमा शान्ति फैलाउनु रहेको बताए।

पोखरा–२२ का वडाध्यक्ष मित्रलाल बरालले वडामा भएका विभिन्न सम्पदाहरुको चर्चा गर्दै पूर्वाधार विकासका लागि सरकारको सहयोग आवश्यक रहेको बताए।

विश्व शान्ति स्तूप समितिका सदस्य खेमराज पौडेलले श्रोत र साधनको सही रुपमा विकास गरेर १५–२० वर्षमै देशलाई समृद्ध बनाउन सकिने बताए। पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले विश्वशान्ति स्तूप एक पर्यटकीय गन्तव्यको मोडल बनेको चर्चा गर्दै यसै अनुरुप पोखराको चारैतर्फ पर्यटकीय विकास गर्न सकिने बताए।

शान्ति स्तूप समितिका अध्यक्ष शंकर गुरुङको अध्यक्षतामा भएको सो समारोहमा उपाध्यक्ष उत्तममान बुद्धाचार्यले स्वागत तथा सचिव अशोक गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*