नयाँ स्थानमा राजधानीः प्रचण्ड

खबरपथ संवाददाता
३ मंसिर २०७६, मंगलवार १८:५८

भैरहवा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शहर नभएको नयाँ ठाउँमा पनि प्रदेशको राजधानी राख्न सकिने बताउनुभएको छ । उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा मंगलबारदेखि भैरहवामा सुरु भएको पाँचौं लुम्बिनी पर्यटन प्रवद्र्धन, औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ को उदघाटन गर्दै प्रचण्डले सबैलाई पायक पर्ने स्थानमा प्रदेशको राजधानी तोक्नुपर्ने आफ्नो दृढ मान्यता रहेको बताउनुभयो ।जुन ठाउँमा पुग्यो त्यही ठाउँ प्रदेशको राजधानीका लागि उपयुक्त रहेको भनेर अभिव्यक्ति दिने गरेको भनी आलोचना खेप्दै आएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश ५ को राजधानीबारे फेरि बोलेका छन् ।

उद्योग व्यापार संगठन रूपन्देहीले मंगलवार भैरहवामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले शहर नभएको नयाँ ठाउँमा पनि प्रदेशको राजधानी राख्न सकिने बताएका हुन् ।“जनताको बीचमा विभिन्न जिज्ञासा र प्रश्न छन्, प्रश्न छन् । बाँके–बर्दिया गयो भने एउटा भावना पाइन्छ, दाङ जाँदा रुकुम–रोल्पाका जनताको एउटा भावना छ । मैले बोल्दा सकेसम्म सबैलाई सहज हुने र सबैलाई लाभ हुनेगरी गर्नुपर्छ भनेर नेपालगञ्जमा जाँदा पनि बोलेको हुँ, दाङमा जाँदा पनि बोलें, अहिले पनि बोल्छु”–उहाँले भन्नुभयो–“सबैलाई धेरै भन्दा बढी सुविधा कहाँ हुन्छ, त्यही राजधानी हुनुपर्छ ।” प्रदेश पाँचको अस्थायी राजधानी अहिले रुपन्देहीको बुटवलमा छ । स्थायी राजधानीबारे निर्णय गर्दा नयाँ ठाउँमा पनि राजधानीको विकास गर्न सकिने र यो विषय अहिले पनि छलफलको चरणमा रहेको प्रचण्डले बताउनुभयो । प्रदेश सरकार गठन भएको दुईवर्ष पुग्न लाग्दा समेत प्रदेश सभाले राजधानी र प्रदेशको नाम टुंग्याउन सकेको छैन । पूर्वाधारको हिसाबले प्रदेश राजधानीका लागि रुपन्देही नै उपयुक्त हुने नेकपाका शीर्ष नेताबीच अनौपचारिक सहमति भएको बताइएको छ ।

कार्यक्रममा बोल्दै नेकपाका अध्यक्ष प्रचण्डले पूर्वाधार विकास भइसकेका सहरमै राजधानी हुनुपर्छ भन्ने कुनै जरूरी नभएको बताउनुभयो । “नयाँ ठाउँमा पनि राजधानी विकास गर्न सकिन्छ । यो छलफलकै क्रममा छ”–उहाँले भन्नुभयो । ।प्रचण्डले लगातार तीन पटक महोत्सव उदघाटन गर्ने अवसर मिलेकोमा खुसी लागेको पनि बताउनुभयो । “लगातार महोत्सव उदघाटन गरेर मैले ह्याक्ट्रिक गरेँ”– प्रचण्डले भन्नुभयो ।उद्योग, व्यापार र व्यवसायका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । “पाँच वर्षभित्र नेपालका व्यवसायीले लिएको अपेक्षा पूरा हुन्छ, यसमा ढुक्क हुनुहोस्”–उहाँले भन्नुभयो–“यहाँका व्यापारी देशभित्र भन्दा पनि देशबाहिर लगानीका लागि गएका छन् भन्ने सुनेँ, यो दुखदायी कुरा हो ।”सरकारले रोजगारी सिर्जनाका लागि रोजगारमैत्री वातावरण बनाउँदै लगेको उहाँले बताउनुभयो । लुम्बिनीमा पनि मानिसको आकर्षण पछिल्ला वर्षहरुमा बढ्दै गएको प्रचण्डको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*